काभ्रेपलाञ्चोक – दोस्रो जनआन्दोलनमा गम्भीर घाइते १७ वर्षसम्म अर्धचेत भई निधन भएका काभे्रको बनेपाका मुकेश कायष्थको परिवारले एक वर्षपछि राज्यबाट सुविधा पाउने भएको छ । अर्धचेत भई शय्यामै ‘जीवन–मरण’को अवस्था रहेका बनेपा नगरपालिका–८ का ३२ वर्षीय मुकेशको उपचारको क्रममै विसं २०८० वैशाख २७ गते अस्पतालमा निधन भएको थियो ।
विसं २०८० जेठ २ गते मुकेशलाई तत्कालीन सरकारले सहिद घोषणा गरेको थियो । यसपछि मुकेशको परिवारले केही प्रविधिक त्रुटीका कारण राज्यबाट पाउने सुविधा पाएको थिएन । सहिद घोषणा राजपत्रमामा प्रकाशित हुँदा निधन भएको मिति नमिलेपछि सुविधा पाउनबाट एक वर्षदेखि मुकेशको परिवार वञ्चित रहँदै आएको थियो । मुकेशको परिवारले गृहमन्त्री रमेश लेखकलाई भेटी आफूले राज्यबाट सुविधा पाउनबाट भएको बञ्चितीबारे जानकारी गराएपछि सरकारको तर्फबाट सहिदले पाउनेसरह सबै सुविधा पाउने भएको हो ।
सहिद मुकेशको आमा मीरा कायस्थले बुधबार गृहमन्त्री लेखकसँग भेटी उक्त जानकारी गराएपछि लेखकले राज्यबाट पाउने सुविधान दिइने प्रतिबद्धता व्यक्त गरेका थिए । “हामीले गृहमन्त्रीलाई भेटेर आयौँ, उहाँले सङ्घीय लोकतन्त्रिक गणतन्त्र स्थापनामा सहिद मुकेश कायस्थको योगदान छ, केही प्राविधिक त्रुटी सच्याएर राज्यबाट पाउने सुविधा सबै दिलाउँछौँ, मेरो प्रतिबद्धता छ भन्नुभएको छ”, कायष्थले भने ।
उनले यसअघि राज्यबाट सहिद परिवारले पाउने कुनै पनि सुविधा नपाएको बताए। “राज्यबाट पाउनुपर्ने सबै सुविधा पाउनुपर्यो भन्नका लागि गृहमन्त्री भेट्न गएका हौँ, उहाँले सुविधान प्रदान गर्न छिट्टै प्रक्रिया अघि बढाउने भन्नुभएको छ, आशावादी भएका छौँ”, कायष्थले भने।
सरकारले मुकेशको उपचार खर्च, रु १५ हजार मासिक भत्ता, एक सुसारेको लागि रु छ हजार दुई सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । यस्तै २०७८ मा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा रहेको ‘लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समिति’ले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै मुकेशलाई ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो । सरकारले उक्त परिवारको बैंकको रु सात लाख ऋणसमेत मिनाहा गरिदिएको थियो ।
मुकेश दोस्रो जनआन्दोलन (२०६२–६३)मा गम्भीर घाइते भई विभिन्न अस्पतालमा उपचार गर्दापनि अर्धचेत अवस्थामै रहेपछि कायष्थ परिवारले निकै पीडा खेप्दै आएको थियो । आन्दोलनका क्रममा २०६२ चैत २७ गते १५ वर्षका मुकेशलाई बनेपाको तीनदोबाटोमा बाँया कञ्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते भएका थिए । त्यस दिनदेखि उनको होस् खुल्न सकेको थिएन भने बाँया हात र गोडा राम्रोसँग चल्दैनथ्यो । गोलीको घाउ निको भएपनि मुकेशको टाउकोमा गहिरो खाल्डो थियो ।
बनेपाको विद्या सागर स्कुलमा कक्षा ८मा अध्ययनरत मुकेश जनआन्दोलनमा घाइते हुँदा १५ वर्षका थिए । मुकेश घाइते भएको केही समयपछि उहाँको उपचारार्थ सहयोग एवं समन्वयका लागि ‘मुकेश फाउण्डेशन’समेत स्थापना गरिएको थियो । गोली लागेर घाइते हुनुएको दिनदेखि ‘ओछ्यान’मा परेका मुकेशलाई ‘ज्यूँदा सहिद’ भन्ने गरिँदै आइएको थियो ।
मुकेश ओछ्यानबाट कहिल्यै उठ्न नसकी १७ वर्षदेखि जीवन र मृत्युसँग लडिरहेका थिए । परिवार र स्वास्थ्कर्मीको निरन्तरको स्याहार र उपचारपछि देब्रे हात केही हल्लाउने, आमा भन्ने, केही हाँस्ने, गिलो खाने कुरा खाने सक्नेसम्म हुनुएका मुकेश २०७५ असारमा थप बिरामी परेपछि परिवार निकै चिन्तामा पर्यो । बाबा–आमा भनेर बोलाउला भन्ने आशामा मुकेशको स्याहारसुसारमा दिनरात नभनेको कायष्थ परिवारलाई आशा मरेको थिएन ।
लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकोमा बिरामी परेपछि पेटमै पाइपद्वारा खानेकुरा दिइँदै आइएको थियो । चिकित्सकका अनुसार मुकेशको टाउकोमा जम्ने पानी निस्कने पाइप समयसमयमा बन्द हुने हुँदा स्वास्थ्यमा थप समस्या हुँदै आएको थियो ।
थप बिरामी परेपछि मुकेश दुब्लाउँदै गएको, पहिले जस्तो हाँस्न र सकेको बोल्न छाड्दा उनीहरुलाई ‘पीरमाथि पीर’ थपिँदै गयो । कसैले उनको नाम लिएर बोलाउँदा ‘हँ ह, माँ’ भनेर बोल्नसक्ने मुकेश पछिल्लो वर्षदेखि बोल्न सकेका थिएनन् । छोराको विषयमा जो कोहीसँग कुराकानी गर्दा मुकेशका बाबुआमा निकैबेर भक्कानिन्थे। मुकेश परिवारको एक्ला छोरा थिए । “परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुनेगरी घाइते भएपछि हाम्रो हालत के भएको होला, त्यत्रा वर्षसम्म ओछ्यानमै रहेर हामीलाई छोडेर गयो !”, मुकेशका बाुब कृष्णमानले भने ।
बिरामी परेयता मुकेश दाँया हात र दुवै गोडा थोरै मात्रामा चलाउन सक्थे । आफन्तका अनुसार आमा वा बाबुमध्ये कोही केही समय नजिक नभए मुकेश रुने गर्थे । मुकेशको चेत खुल्नसके थप सहयोग मागेर भएपनि उपचारका लागि अझै कतै लैजान सकिन्छ की, भन्ने आशामा बसेको थियो कायष्थ परिवार । तर, देश–विदेशका चिकित्सकले थप उपचार गर्न नसकिने सल्लाह दिएको सम्झँदै छोराको भविष्य चकनाचुर भएकोमा मर्माहित थियो उक्त परिवार । आन्दोलनका घाइते र सहिदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायष्थ दम्पतिको छ ।
दोस्रो अनआन्दोलनका क्रममा काभे्रपलाञ्चोकका चार युवाले ज्यान गुमाएका थिए । आन्दोलनमा नालाका भिमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवर बनेपामा र नागे्र गगर्चेका सुनिलकुमार लामा काठमाडौँको जोरपाटीमा मारिएका थिए । उक्त आन्दोलनमा जिल्लाका ४० जना घाइते भएका थिए । रासस



























































