काठमाडौं – झापा उद्योग संघ भद्रपुरको २७औँ साधारण सभा उद्योगी–व्यवसायीहरूले उद्योगमैत्री नीति र व्यवसायमैत्री वातावरणको माग गर्दै सम्पन्न भएको छ।


ADVERTISEMENT


संघको सभाकक्षमा आयोजित कार्यक्रममा सार्क चेम्बर्स अफ कमर्सका अध्यक्ष चण्डीराज ढकालले सरकारको नीति र व्यवहार उद्योगमैत्री नभएसम्म मुलुकको अर्थतन्त्रले गति लिन नसक्ने बताए। उनले सरकार परिवर्तनसँगै निजी क्षेत्रले धेरै अपेक्षा गरे पनि त्यसअनुसारका नीतिगत सुधार हुन नसकेको उल्लेख गर।


ADVERTISEMENT

# # #


ढकालले हाल चिया क्षेत्रमा देखिएको समस्याको समाधानका लागि भारतीय बजारमा मात्र निर्भर नभई चीन र पाकिस्तानलगायत नयाँ अन्तर्राष्ट्रिय बजार विस्तार गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आफूले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

नेपाल चिया तथा कफी विकास बोर्डका उपाध्यक्ष आदित्य पराजुलीले बैंकको ब्याजदर घट्नु मात्र पर्याप्त नभई उद्योग सञ्चालन र उत्पादन वृद्धि हुनुपर्ने बताए। उनले चिया क्षेत्रका समस्या समाधानका लागि कृषि तथा एग्रो–आधारित उद्योगहरू एकजुट भएर सरकारसँग समन्वय गर्नुपर्ने धारणा राखे।

भद्रपुर नगरप्रमुख गणेश पोखरेलले बन्द अवस्थामा रहेको मोमेन्टो एपेरल्स उद्योग पुनः सञ्चालनका लागि सरकारले आवश्यक सहजीकरण गर्नुपर्ने बताए। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उद्योग क्षेत्रलाई प्रशासनिक र सुरक्षा सहयोग निरन्तर उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा झापा उद्योग तथा वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले शुभकामना मन्तव्य राखेका थिए । संघका कोषाध्यक्ष प्रदीपकुमार सरावगीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो भने अध्यक्ष यमबहादुर श्रेष्ठले आफ्नो कार्यकालमा भएका गतिविधि र उपलब्धिबारे जानकारी गराए।

साधारण सभाको अवसरमा उद्योग, चिया तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो। सम्मानित हुनेहरूमा सार्क चेम्बर्स अफ कमर्सका अध्यक्ष चण्डीराज ढकाल, नेपाल चिया तथा कफी विकास बोर्डका उपाध्यक्ष आदित्य पराजुली, पत्रकार गोपाल गिरी र रोहित काफ्ले लगायत विभिन्न उद्योगी, निर्यातकर्ता तथा संघका उत्कृष्ट सदस्य र कर्मचारीहरू रहेका छन्।