एजेन्सी – ब्राजिलको प्रदेश साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ ।
दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको बेला भिन्हेडो सहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ।
सामाजिक सञ्जालमा प्रसारित फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखाइएको छ, यो खस्दै जाँदा घुमिरहेको देखिन्छ । एटीआर ७२–५०० मा ५७ यात्रु र चार चालक दलका सदस्य सवार थिए । स्थानीय अधिकारीहरूका अनुसार विमानमा सवार कोही पनि बाँचेनन्। एक प्रत्यक्षदर्शीले भने, ‘मैँले बार्दलीमा गएका बेला विमान घुमेर तल झरिरहेको देखेको थिएँ ।’
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पीडित परिवार र साथीहरूप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्। साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेका छन्।
दुर्घटना भएको विमान आवासीय क्षेत्रमा अखसेको थियो तर जमिनमा कोही पनि घाइते नभएको बीबीसीले जनाएको छ । स्थानीय कन्डोमिनियम कम्प्लेक्समा रहेको एउटा घरमा मात्रै क्षति पुगेको अधिकारीहरूले बताएका छन्। सार्वजनिक भिडियोमा घरहरूले भरिएको क्षेत्रमा आगो र धुँवा उडिरहेको देखिन्थ्यो भने विमानको भग्नावशेष देखिएको छ ।
ट्र्याकिङ वेबसाइट फ्लाइट राडारको अनुसार, विमान स्थानीय समय दिउँसो ११ः५६ मिनेटमा उडेको थियो छोडेको थियो। करिब डेढ घण्टापछि विमानबाट अन्तिम संकेत आएको थियो ।
राष्ट्रपति लुलाले एक कार्यक्रममा बोल्दै पीडितहरुलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।



























































