काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलले मधेसका जनतालाई अल्मल्याइरहेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको २९ औँ स्थापना दिवस तथा जनसांस्कृतिक पुरस्कार–२०७३ र जनसांस्कृतिक युवा पुरस्कार–२०७३ वितरण समारोहलाई आज सम्बोधन गर्दै उनले भने– “देशलाई सङ्क्रमकालबाट पार लगाउन तीन तहको निर्वाचन गर्नुको सट्टा मधेसवादी दलले जनतामाझमा विभिन्न नचाहिने कुरा गरेर अल्मल्याइरहेका छन् ।”


ADVERTISEMENT

# # #


अध्यक्ष ओलीले “देशलाई प्रतिकूल अवस्थामा धकेल्ने प्रयास भइरहेको तर एमालेले देशलाई पछाडि फर्काउन प्रयासलाई सफल हुन दिँदैन,” भन्दै देश गरिबी हुनु पर्ने कुनै कारण नभएको बताए ।

केही व्यक्तिका कारण देश गरिब भएको उल्लेख गर्दै उनले हिजोको जस्तो चुनौती आजका दिनमा नभएको स्पष्ट पारे ।

“हिजोको चुनौतीजस्तो आजका चुनौती सजिलैसँग समाधान गर्नेखालका छैनन्”, उनले भने – “पहिलेको जस्तो अबका दिनमा अलिअलि गल्ती गर्नुहुँदैन, देश बनाउनका लागि गति बढाउनुपर्दछ ।”

कार्यक्रममा अध्यक्ष ओलीले संस्कृतिविद् शङ्कर पोखरेल (मोरङ)लाई नगद रु २५ हजार राशिको जनसांस्कृतिक पुरस्कार–२०७३ र रु १५ हजार राशिको जनसंस्कृति युवा प्रतिभा पुरस्कार युवा नाट्यकर्मी रवि कार्की (म्याग्दी) लाई प्रदान गरे ।