काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले संक्रमणकालीन न्यायसंगसम्बन्धी बाँकी कामलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसंगसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिदै लामिछानले राजनीतिक दाउपेचकै कारण संक्रमणकालीन न्यायका कामहरु लामो समय अल्झिएको भन्दै अब भने यसलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन आग्रह गरेका हुन् । उनले न्याय दिने संरचनालाई बलियो बनाउदै पीडितलाई न्याय दिन सक्नुपर्नेमा जोड दिए । राजनीतिक भागबण्डाका आधारमा आयोगमा पदाधिकारी चयन गरे पीडितले न्याय पाउन नसक्ने उनले बताए ।
उनले अन्तराष्ट्रिय जगतले प्रश्न गर्न नसक्ने गरी संक्रमणकालीन न्यायसंगसम्बन्धी कामलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए । त्यस्तै उनले ठूला दल एक ठाँउ आएर सरकार बनाउने परिस्थिति मुलुकमा आएको स्वीकार गर्न तयार नरहेको जिकिर गरे । उनले लोकतन्त्रका मूल्य मान्यतालाई आत्मसाथ गर्दै प्रणालीहरुलाई नभत्काउने प्रतिवद्धता गर्नुपर्नेमा जोड दिए ।
उनले लोकतान्त्रिक प्रणालीमा भइरहेको प्रहारका कारण नयाँ दलहरु स्थापित हुने अवस्था आएको समेत बताए । उनले टीआरसीलाई रास्वपाले नजिकबाट हेरिरहेको भन्दै प्रणालीका नाममा यसलाई भत्काउने काम भए पिडितहरुका लागि दुर्भाग्य हुने बताए ।



























































