काठमाडौँ – नेपालले काठमाडौँमा आजदेखि सुरु भएको दक्षिण एसियाली राष्ट्रहरुबीचको यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको उद्घाटन खेलमा आयोजक नेपालले श्रीलंकालाई १–० गोलले हराएको हो ।
नेपालको जितका लागि निराजन धामीले एकमात्र गोल गरे । उनले खेलको २४औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि पनि नेपालले गोल गर्ने थुप्रे मौका पाए पनि सदुपयोग गर्न सकेन ।
नेपालले अब आफ्नो समूहको दोस्रो तथा अन्तिम खेल २२ अगष्टमा बंगलादेशसँग खेल्नेछ । ६ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, श्रीलंका र बंगलादेश रहेका छन् भने समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ ।
प्रतियोगिता काठमाडौँको दशरथ रंगशालामा गर्ने भनिए पनि मैदानको खराब अवस्थाका कारण एन्फा क्प्लेक्समा सारिएको थियो । नेपालले साफ यू–२० च्याम्पियनसिप आयोजना गरेको यो चौथो पटक हो । यसअघि नेपालले पहिलो संस्करणसहित सन् २०१९ मा तेस्रो र २०२३ मा पाँचौँ संस्करण आयोजना गरेको थियो ।
त्यसपछि सन् २०१७ मा भुटानमा भएको उक्त च्याम्पियनसिपमा पनि नेपाल च्याम्पियन बनेको थियो । त्यसपछि भारतले लगातार तीन पटक जित्दै उपाधिमा ह्याट्रिक गरिसकेको छ । अहिलेसम्म पाँच संस्करण आयोजना हुँदा नेपाल दुई पटक विजेता र दुई पटक सेमिफाइनल पुगेको छ । एक पटक समूह चरणबाटै बाहिरिएको इतिहास छ ।


























































