लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेशसभाको दुई तिहाई विश्वास हासिल गरेका हुन् ।


ADVERTISEMENT


कूल ८७ सदस्य रहेको लुम्बिनीको प्रदेशसभामा मंगलबार ८१ सांसद उपस्थित थिए । जसमध्ये मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ७० जना प्रदेश सभा सदस्यले मत दिएका छन् । यस्तै उनको विपक्षमा ११ मत परेको छ भने ५ जना अनुपश्चित थिए ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री आचार्यले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत रहेको भन्दै सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले आफूलाई प्रदेशसभाको विश्वासको मत छ भनी राखेको प्रस्ताव बहुमतले वारित भएको घोषणा गरेका हुन् ।

नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३–३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिएका हुन् ।

८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका ११, राप्रपाका ४ तथा एकीकृत समाजवादी र जनमोर्चाका एक एक सांसद प्रतिपक्षमा छन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यलाई एमालेसहित नेपाली काँग्रेस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जसपा लगायतले मत दिएका हुन् ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसद भने विपक्षमा रहे ।