काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधबार मन्त्रालय र केन्द्रबीच सो सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
अस्पतालमा खेर गैरहेका उपकरण मर्मत गर्नका लागि सघाउन मन्त्री पौडेलले केही दिन अघि पुनसँग आग्रह गरेका थिए । त्यसलगत्तै मन्त्रालयले केन्द्रसँग औपचारिक सम्झौता गरेको हो । सो क्रममा मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा सहजता आउने विश्वास व्यक्त गरे ।
“मर्मत र अरु ढङ्गले उपयोगमा ल्याउन नसकिने सामाग्री अस्पतालमा छन्, प्रयोगमा आउने र नआउने छुट्याएर सोही अनुरुप व्यवस्थापन गर्न जरुरी छ । त्यो काम गर्दा अस्पताल सफा हुने र कम खर्चमा उपकरण प्राप्त हुने भएका कारण आविष्कार केन्द्रसँग सहकार्य गर्न लागिएको हो”, उनले भने । केन्द्रको सहयोगमा राज्यको खेर गैरहेको सम्पतीको उपयोगबाट बिरामी पनि लाभान्वित हुने र उपकरण खरिदका लागि हुने खर्चसमेत कम हुने धारणा राखे ।
केन्द्र प्रमुख पुनले राज्यले आफूहरुलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको भन्दै खुशी प्रकट गरे । उनले यसले आफूहरुलाई हौसला दिएको भन्दै मन्त्री पौडेललाई धन्यवाद दिए । उनले भने, “यो जिम्मेवारी भनेको सङ्घीय सरकारअन्तर्गत रहेका अस्पतालमा बिरामीको स्वास्थ्य परीक्षण गर्ने बायोमेडिकल उपकरण मर्मत गर्ने तथा ती उपकरणको अवस्था के–कस्तो छ भनी एकिन गर्ने हो ।”
ती अस्पतालमा रहेका उपकरण के–कति प्रयोगमा आउन सक्ने र कुन अवस्थामा छन् भनी एकिन गर्ने तथा बनाउन सकिने र नसकिने पहिचान गर्ने कार्य केन्द्रले गर्नेछ । मर्मत गर्नं सकिने भए बनाउने र नसकिने भए सोही अनुसारको रायसुझाव आविष्कार केन्द्रले मन्त्रालयलाई दिनेछ ।
“स्वास्थ्य मन्त्रालयले आविष्कार केन्द्रलाई ठूलो जिम्मेवारी दिएको छ”, अध्यक्ष पुनले भने, “हामीले पाएको जिम्मेवारी नागरिकको स्वास्थ्यसँग सम्बन्धित छ । उपकरणलाई ठिक अवस्थामा राख्न सकिए धेरैको ज्यान बचाउन सकिन्छ । लाखौँ नागरिकले यसको सेवा लिनसक्छन् । त्यसैले यो सानोतिनो जिम्मेवारी होइन ।”
केन्द्रले क्षमताले भ्याएसम्म इमान्दारिपूर्वक कुनै छलछाम नगरीकन राष्ट्र र जनताको सेवा गर्ने प्रतिवद्धता जनाउदै अध्यक्ष पुनले नौलो र बृहत् क्षेत्र भएपनि विगतका अनुभवले काम पुरा गर्ने विश्वास व्यक्त गरे ।
अब केन्द्रले हाल मन्त्रालयअअन्तर्गतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ । त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरुले मर्मत गर्ने बताइएको छ ।