काठमाडौँ – घरेलु टोली नेपाल समूह विजेता बन्दै साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।


ADVERTISEMENT


समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ को गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा नेपालकालागि समीर तामाङ र निराजन धामीले गोल गरे । बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काए ।


ADVERTISEMENT

# # #


खेलको १७ औं मिनेटमै नेपालले सुरुआती अग्रता लियो । नेपालका कप्तान कुशल देउवाले पेनाल्टी बक्सबाट क्लियर गरेको बललाई बंगलादेशका गोलकिपरले रोक्न खोज्दा समीर तामाङले गोल गरेका थिए । त्यस्तै खेलको १९ औं मिनेटमा निराजन धामीले गोल गरे । पहिलो हाफको ४२ औं मिनेटमा मिराजुल इस्लामले बंगलादेशका लागि गोल गरेका थिए । तीन अंक जोडेको बंगलादेश पनि समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

अब शुक्रबार हुने समूह बी को अन्तिम खेलबाट नेपाल र बंगलादेशको सेमिफाइनल प्रतिद्धन्दी तय हुने छ । ६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।