टीकापुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभागका प्रमुख नैनसिंह महरले निःशुल्क स्वास्थ्य र शिक्षा संविधान प्रदत्त अधिकार कार्यान्वयनका लागि सरकार जिम्मेबार बन्नुपर्ने बताएका छन् ।
टीकापुरस्थित विरेन्द्र विद्यामन्दिर क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले संविधानले ग्यारेन्टी गरेको विषय कार्यान्वयनमा ल्याउन संयुक्त सरकार ठूलो दल काँग्रेसले समेत महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए।
‘संविधानको शिक्षासम्बन्धी मौलिक हकमा नागरिकले निस्शुल्क स्वास्थ्य शिक्षा पाउने कुरा उल्लेख छ। तर, हाम्रा विद्यार्थी चर्को शुल्क तिर्न बाध्य छन्। यसको अन्त्य हुनुपर्छ’, महरले भने।
संवैधानिक व्यवस्था कार्यान्वयनमा कांग्रेस लागेको र निःशुल्क स्वास्थ्य शिक्षाका कार्यान्वयनका लागि आधार तयार पारिरहेको उनले जानकारी दिए। उनले यस विषयमा सरकारमासंग समेत आवश्यक छलफल रहेको बताए । कांग्रेसले समग्र शिक्षा क्षेत्रको विकासका लागि नीति निर्माण गर्ने अभियान थालेको उनको भनाई थियो ।
निःशुल्क स्वास्थ्य, शिक्षासँगै व्यवस्थित यातायात, सञ्चार र उद्यमशीलतासहितको रोजगार, जनताको अधिकार, नेपाली कांग्रेसको सरकार भन्ने नारा ऐजेण्डा उठाउँदै महरले अगाडि भने, ‘निशुल्क र गुणस्तरिय शिक्षाका लागि २० प्रतिशत बजेट छुट्याउने प्राय राजनीतिक दलहरुले घोषणापत्रमा मात्र सिमित राखेका छन् ।’
जनताको शिक्षा र स्वास्थ्यमा राज्यले सहयोग गर्नुपर्ने उनले बताए। शिक्षा र स्वास्थ्य नै महँगो भए नागरिकले आफ्ना सन्तान पढाउन र उपचारका लागि जोहो गर्नकै लागि भए पनि आफ्नो आम्दानीले नपुगेर भ्रष्टाचार गर्नुपर्ने अवस्था सिर्जना भइरहेको महरले चिन्ता व्यक्त गरे। शिक्षा र स्वास्थ्य मात्र निःशुल्क गर्न सकेमा धेरै भ्रष्टाचार आफैँ रोकिने उनको धारण थियो ।


























































