काभ्रे– काभ्रेपलान्चोकको बनेपामा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल सहितको महोत्सव आयोजना हुने भएको छ ।
आयोजक बनेपा व्याइज क्लबले बुधबार बनेपामा पत्रकार सम्मेलन गर्दै हाम्रो अभियान खेलको ज्ञान, संस्कृति र समृद्धि बनेपाको पहिचान भन्ने नाराका पाँचौ संस्करणको बनेपा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रबद्र्धन, खेलकूद विकास गर्ने उद्देश्यले असोज ९ गतेदेखि १५ दिन आयोजना हुने क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिऐ । मेला बनेपा नगरपालिका– स्थित उग्रेश्वर महदेव मन्दिर परिसरमा आयोजना हुने उनले बताए ।
मेलामा खेल प्रतिस्पर्धा, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपासम्बन्धी विभिन्न प्रतियोगिता सञ्चालन हुने उनको भनाइ छ । मेलामा स्थानीय कला, संस्कृति झल्कने झाँकी प्रदर्शन, बाजागाजा, मौलिक नाच प्रदर्शन गर्ने आयोजकले जनाएको छ ।



























































