विराटनगर – कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ ।


ADVERTISEMENT


कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले सो विधेयक पारित गरियोस् भत्रे प्रस्ताव सदनमा पेस गरेका थिए।


ADVERTISEMENT

# # #


सो प्रस्ताव सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित हुनुअघि प्रस्तावमा दफावार छलफल भएको थियो ।

छलफलमा प्रदेशसभा सदस्य रामप्रसाद महतो र सदानन्द मण्डलले संशोधित विधेयकबाट वास्तविक किसानले राहत पाउने विश्वास व्यक्त गरेका थिए ।

प्रदेशसभाको आजको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट रमेशकुमार बस्नेतले सर्दु खोला जलाधारको नाम चार सय विघा जग्गाभन्दा बढी भोग चलन एवं स्वामित्वमा रहेका जग्गा रोक्का भएको लामो समय बितिसक्दा पनि सो जग्गाको स्वामित्व हस्तान्तरण, बेचबिखन हुन नसकेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बाबुराम गौतमले जटिल रोग लागेका बिरामी सहजरुपमा उपचार पाउनुपर्ने धारणा राखे । उनले पहाड र हिमाली क्षेत्रमा विकासका ठोस योजना नपरेका कारण त्यस क्षेत्रका जनता उपेक्षित हुन गएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत) समाजवादीका खिनु लङ्वा लिम्बूले ताप्लेजुङको पाथिभरामा निर्माण गर्न लागिएको केबलकार स्थानीय जनताको भावना विपरीत भएको बताए । उनले केवलकार निर्माणका नाममा दुर्लभ वनस्पति कटान भइरहेको बताए ।

आजको शून्य समयमा प्रदेशसभा सदस्यहरुले मुलुकको समसायिक विषयमा बोलेका थिए । प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।