काठमाडौँ – नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सभामुखको रुलिङलाई मान्दिन भन्न नमिल्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै खतिवडाले सभामुखको रुलिङमा आपति भए लिखित रुपमा जानकारी गराउन सक्ने भएपनि मान्दिन भन्न नमिल्ने बताएका हुन् ।
माओवादी सरकारबाट बाहिरिनुपर्दाको केही असर सदनमा समेत देखिएको भन्दै साना–साना कुरामा अल्झिन नहुने उनले बताए । उनले भने, ‘माओवादी साथीहरु सत्ताबाट विमुख हुनुभएको छ, उहाँहरुलाई लागेको होला । तर, माआवादी र एमाले यस्ता साना कुरामा अल्झिँदैनन्, मिल्छन् ।’
नेता खतिवडाले सहमतिबाट सबै समस्याको समाधान हुनुपर्नेमा जोड दिए ।
यता नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले भने जनयुद्धलाई जवरजस्ती हिंसाको रुपमा परिभाषित गर्न खोजिएकाले विरोध गरिएको बताए । दाहालले जनयुद्ध कुनै हिंसा नभएको तर यसलाई जवरजस्ती हिंसाको रुपमा परिभाषित गर्न खोजिएकाले विरोध र प्रतिवाद गरिएको बताएका हुन् ।
कांग्रेस र एमालेबीच सरकार गठनका बेला भएको सहमतिपछि जनतामा भ्रम छर्न जनयुद्धलाई अवमूल्यन गर्न खोजिएको उनले बताए । ‘उहाँहरुले जनयुद्धलाई हिंसात्सम गतिविधिहरु भनेर जसरी जबरजस्ती प्रमाणित गर्ने दुष्प्रयत्न गर्नुभएको छ, त्यसलाई हामीले प्रतिपाद गरेका हौँ । जनयुद्ध हिंसा थिएन, जनताले आफै उठाएको संगठिन विद्रोह थियो । जसको नेतृत्व कम्रेड प्रचण्डले गर्नुभएको थियो ।’ उनले भने, ‘जनयुद्धलाई अस्वीकार गर्नु भनेको यो व्यवस्था र परिवर्तनलाई, संविधानलाई अस्वीकार गर्नु हो ।’
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने सभामुखले नियम र ऐन बमोजिम गरिएका निर्णयहरुलाई अस्वीकार गर्ने प्रतिपक्षीको कदमले संसदीय प्रणालीलाई अमर्यादीत र कमजोर बनाउने काम गरेको बताए । माओवादी केन्द्रबाट प्रतिनिधिसभाको बैठकमा सभामुखमाथि लान्छना लगाउने, अपनामानित गर्ने काम भएको उनले बताए ।
सशस्त्र संघर्षका समयमा माओवादी आन्दोलनभित्र हत्या, हिंसा तथा कयौंको बलात्कार समेत भएको तर्क गर्दै उनले भने, ‘माओवादीले हिजो सशस्त्र द्वन्द्वको समयमा धेरै हिंसा गरेका छन् । द्वन्द्वका क्रममा हजारौँ मान्छेको क्रर हत्या गर्नेलाई हामी कानुन बनाएर कारबाही गर्दैछौँ । तर, हामी माओवादीलाई हत्यारा भन्दैनौँ ।’ उनले भने, ‘सशस्त्र द्वन्द्वको समयमा माओवादी ओन्दोलनभित्र कयौँको हत्या भएको थियो, हिंसा भएको थियो, बलात्कार भएको थियो ।’
एमाले र माओवाबीचको एकतापछि बनेको नेकपाको दस्तावेजमै जनयुद्ध भनिएको दस्मरण गर्दै एमालेले जनयुद्धलाई हिंसा भन्न नसुहाउने उनले तर्क गरे ।
त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले दुई दलको विवादले सदन अवरुद्ध हुनु राम्रो कुरा नभएको बताए । सशस्त्र द्वन्द्वका क्रममा भएका राम्रा वा नराम्रा कामलाई स्वीकार गर्दै अहिलेको अवस्थमा आइपुगेको भन्दै उहाले शान्तिप्रक्रियालाई सहज रुपमा निष्कर्षमा पुराउनुपर्ने बताए ।
हिंसा शब्दलाई लिएर राजनीतिक पार्टीहरुले बखेडा खडा गर्न नहुने उनको भनाइ छ ।



























































