काठमाडौँ – प्रतिनिधिसभाको चौथो अधिवेशनमा ५६ वटा बैठक बसेको छ ।
वैशाख २८ गते मंगलबार प्रारम्भ भई भदौ ३१ गते सोमबारसम्म जम्मा १३० दिन चालु रहेको प्रतिनिसधभाको ५६ वटा बैठक बसेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
यस अधिवेशनमा प्रतिनिधि सभामा ८ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भएको थियो जसमध्ये ५ वटा विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएका छन् भने ३ वटा विधेयक समितिमा विचाराधीन रहेको सभामुख घिमिरेले बताए ।
अधिवेशनमा सांसदहरुबाट दर्ता हुन आएका विभिन्न मन्त्रालयसँग सम्बन्धित ५० वटा मौखिक र एउटा लिखित प्रश्नहरु मध्ये ३३ वटा मौखिक प्रश्नहरुको उत्तर प्राप्त भउको उहाले बताए ।
चौथो अधिवेशनको यस अवधिमा पूर्व सदस्यहरु सूर्यमान गुरुङ, शैयद मेहराज अहमद र खगेन्द्रराज रेग्मी, रामचन्द्र राय यादव र श्रवणकुमार अग्रवालको निधनमा सभाबाट शोक प्रस्ताव पारित भएको थियो । संसदको चालू अधिवेशन सोमबारबाटै अन्त्य भएको छ ।



























































