काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा अनिल रेग्मी नियुक्त भएका छन् । विकास बैँकको भाद्र ३१ गते (सोमबार) सम्पन्न सञ्चालक समितिको बैठकले डेपुटी सीईओमा रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
गरिमा विकास बैंक लिमिटेडमा विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट रेग्मीलाई आश्विन १ गतेदेखि लागू हुने गरी डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरिएको बैँकले जनाएको छ । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी गत वर्षको चैत्र १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीसँग तत्कालीन जनता बैंक लिमिटेड र तत्कालीन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्ष सहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ बर्ष कार्य गरको अनुभव रहेको छ । बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रहेका अनिल रेग्मीसंग बैंकिङ्ग लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभव समेत रहेको छ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।



























































