काठमाडौँ – बागमती प्रदेश सरकारले १६औँ पारा ओलम्पिक गेममा कास्य पदक विजेता पलेशा गोबर्द्धनलाई १० लाख नगद सहित सम्मान गरेको छ । बिहीबार प्रदेश राजधानी हेटौंडामा र्याली निकालेर उक्त रकमसहित पलेशालाई सम्मान गरिएको हो ।


ADVERTISEMENT


त्यस्तै पलेशाका प्रशिक्षक कबिराज नेगीलाई २ लाख नगद पुरुस्कारसहित सम्मान गर्नुका साथै बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशब पुरीलाई नगद रु १ लाख सहित सम्मानित गरिएको छ । सोही क्रममा १ वर्ष अघि चीनको ह्वान्जाउ शहरमा भएको १९औँ एसियन गेममा करातेतर्फ रजत पदक बिजेता एरिका गुरुङलाई समेत रु ५ लाखसहित सम्मान गरिएको छ। एरिकाका प्रशिक्षक कुशल श्रेष्ठ पनि रु १ लाख सहित सम्मानित भएका छन् । प्रदेश सरकारले बागमती प्रदेश कराते महासंघ अध्यक्ष गगन लामालाई नगद रु १ लाख सहित सम्मानित गरेको छ ।


ADVERTISEMENT

# # #


एरिका गुरुङलाई यसअघिको प्रदेश सरकारले सम्मान नगरेको कारण खेलाडीहरुको मनोबल उच्च राख्नको निम्ति एरिकालाई अहिलेको सरकारले सम्मान गरेको बागमती प्रदेशका खेलकुद मन्त्री महर्जनले बताए। युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेश सरकारले पदक विजेता खेलाडीलाई नगद सहित निरन्तर सम्मान गर्दै लाने उल्लेख गरे ।

मन्त्री महर्जनले खेलाडीहरुको उज्ज्वल भविष्यको निम्ति बागमती प्रदेश सरकारले बागमती प्रदेशका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद, साग, एसियन गेम, र ओलम्पिकमा पदक विजेता खेलाडीहरुलाई नगद पुरुस्कार सहित सम्मानको लागि मन्त्री परिषदबाट निर्णय गराउने प्रतिवद्धता समेत जनाए ।

उनले दक्षिण एशियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेता एसियन गेममा पदक विजेता र ओलम्पिक गेममा पदक विजेता खेलाडीहरुलाई बागमती प्रदेश सरकारले पदक अनुसारको आजीवन भत्ता उपलब्ध गराउने समेत मन्त्री महर्जनले घोषणा गरे । सम्मान कार्यक्रममा बागमती प्रदेश मुख्य मन्त्री बहादुर सिं लामा समेत उपस्थति थिए ।

बागमती प्रदेश सरकारले यस्तो नगद पुरुस्कार सहित खेलाडी सम्मान गरेको यो पहिलो पटक हो।