काठमाडौँ– काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ ।
ती शवहरू विंगर र बसभित्रबाट निकालिएको प्रहरीले जानकारी जानकारी दिए ।
यसअघि शनिवार साँझ १४ वटा शव निकालिएको थियो । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।
पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ ।
सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ ।



























































