काठमाडौँ – नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.ले यही आश्विन १९ गते साधारण सभा आह्वान गरेको छ। काठमाडौँको होटल यलो पेगोडामा हुन गईरहेको सातौ वार्षिक साधारण सभामा कम्पनीले नियमितको साथै विशेष प्रस्ताव पास गर्ने जनाएको छ।
पूर्वबैँकरहरुले ७ वर्ष अगाडि सम्पत्ति व्यवस्थापन र सल्लाहका सेवा दिने गरी यो कम्पनी स्थापना गरेका थिए । तर विविध कारणले २०८१ बैशाख एक गतेबाट मात्र कम्पनीले नियमित कारोबार सञ्चालन गरेको थियो। कम्पनीको शुरु संस्थापकमा बिएन घर्ती, बलराम बिष्ट, रमेश कुमार भट्टराई, श्रीचन्द्र भट्ट, सुरेश सापकोटा, बिनय उपाध्याय र कमल पन्थी थिए।
कम्पनीले हालै प्रकाशित गरेको सुचना अनुसार आउने साधारण सभामा आ.ब. २०८०/८१ को वित्तीय विवरण पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने र नया सञ्चालक समितिको मनोनयन गर्ने साधारण प्रस्ताव राखेको छ।
त्यसै गरी विशेष प्रस्ताव अन्तर्गत ‘नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटि सोलुसन्स प्रालि’ रहने गरी कम्पनीको नाम परिवर्तन गर्ने, सोही बमोजिम उद्देश्य र गर्ने काम संशोधन गर्ने, जारी र चुक्ता पूँजी वृद्धि गर्ने तथा समान प्रकृतिको कम्पनीसँग मर्जर एक्विजिसन गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा राखेको छ।
कम्पनीले कारोबार प्रारम्भ गरेपछि साना ठूला उद्योगपति व्यवसायीको कम्पनीप्रति आकर्षण बढेको थियो । लगानी सम्मेलनमा कोरियन कम्पनीले विदेशी लगानी ल्याउन नेक्सजेनसँग समझौता पनि गरेको थियो । यसरी कम्पनी सञ्चालनको तीन महिनामा ५ प्रतिशत लाभांश दिन सफल भएपछि नेक्सजेन म्यानेजमेन्टले कारोबार विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
कम्पनीले छिट्टै नियमक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट, प्राईभेट ईक्विटि र भेन्चर क्यापिटल सम्बन्धि कामहरु, सल्लाहकार सेवा र सिमित मात्रामा केही संस्थाको सम्पति व्यवस्थापन सम्बन्धी काम पनि गर्ने कार्यक्रम बनाएको कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराईले जानकारि दिएका छन् ।


























































