काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज दाहाल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री,उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।
यसअघिका प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन्। उनले २०८२ चैत १७ गतेसम्म न्यायालयको नेतृत्व सम्हाल्नेछन्।
संवैधानिक परिषदको बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो। त्यसपछि संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्दै उनको नाम असोज १६ मा अनुमोदन गरेको थियो।


























































