काठमाडौं-प्रदेश ५ को आर्थिक विकासको ढोका खोल्ने अपेक्षा गरिएको राष्ट्रिय गौरवको आयोजना भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले गति लिएको छ । यो विमानस्थल निर्माणसँगै काठमाडौं बाहिरबाट पनि अन्य मुुलुकसँग हवाईसेवा सुरु हुनेछ । विमानस्थलबाट बुद्धको जन्मभूमि लुम्बिनी २० किलोमिटर दूरीमा पर्छ ।


ADVERTISEMENT


लुम्बिनी आउने बौद्धमार्गीका लागि यो विमानस्थल सहज हुनेछ । पर्यटन प्रवद्र्धनलाई प्रभावकारी बनाउन सके लाखौँ पर्यटकलाई लुम्बिनी भित्राउन सकिनेछ ।


ADVERTISEMENT

# # #


सहयोग रोक्ने एडिबीको चेतावनी
निर्माणमा ढिलाइ गरेको जनाउँदै एडिबीले आर्थिक सहायता रोक्ने चेतावनी दिएको छ । समयमै काम सम्पन्न नगरेको र भइरहेका काम पनि सन्तोषजनक तरिकाबाट अगाडि नबढेको एडिबीले चिनियाँ कम्पनीलाई चेतावनीपत्र दिँदै आएको परियोजना प्रमुख शर्माले बताए ।

धावनमार्गको स्तरोन्नति
सुरुवातमा ७९ बिघा क्षेत्र रहेको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउन दुई सय आठ बिघा क्षेत्र जग्गा अधिग्रहण गरिएको थियो । यसैलाई अन्तर्राष्ट्रिय बनाउन थप पाँच सय बिघा जग्गा अधिग्रहण गरी यसको क्षेत्रफल सात सय ८७ बिघा पु¥याइएको छ ।

सुरुवातमा एक हजार पाँच सय २० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्गलाई स्तरोन्नति गरेर तीन हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइ बनाइएको छ ।

दुवैतर्फबाट उडान भर्न सकिने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा लिइएको यो विमानस्थलमा जहाजले पूर्व र पश्चिमबाट उडान भर्न र अवतरण गर्न सक्नेछन् ।

साथै हुस्सु लागेको वेला तीन सय मिटर भिजिबिलिटीमा पनि विमानले उडान भर्न र अवतरण गर्न सक्नेछन् । अहिले एक हजार ६ सय मिटरभन्दा कम भिजिबिलिटी विमान अवतरण र उडान भर्न समस्या हुन्छ ।

सुरुवातमा ६ वटा जहाज पार्किङको तयारी गरिएको भए पनि जग्गा अधिग्रहण गरिएपछि थप जहाज पार्किङ गर्न मिल्ने गरी संरचना बनाउन थालिएको छ । थपिएको पाँच सय बिघा जमिनमा पार्किङ थप्ने, नयाँ टर्मिनल बनाउने लक्ष्य रहेको शर्माले बताए ।

मुआब्जा वितरणमा ढिलाइ
यसका लागि दुई चरणमा सात सय ८७ बिघा जग्गा अधिग्रहण गरिएको छ । दोस्रो चरणमा जमिन अधिग्रहण गरिएका दुई हजार परिवारमध्ये चार सयले मात्रै मुआब्जा पाएका छन् ।

अहिलेसम्म साढे ६ अर्ब रुपैयाँ बाँडिएको छ । सात हजार कित्ता जग्गाका लागि साढे २३ अर्ब माग गरिएकोमा गत वर्ष साढे चार अर्ब मात्रै निकासा भएको थियो । वितरण प्रक्रिया झन्झटिलो भएकाले ढिलाइ भएको परियोजना प्रमुख शर्माले बताए ।

कति बन्यो विमानस्थल ?
१ माघ ०७१ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको विमानस्थल पाँच महिनाभित्र निर्माण सम्पन्न हुने जनाइएको छ । अहिले धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवन, डोमेस्टिक भवन, प्रशासनिक भवन, टावर, फायर एन्ड रेस्क्यु भवन निर्माण भइरहेका छन् ।

यो विमानस्थल एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा नेपाल सरकारले नै बनाउन लागेको हो । यसको निर्माण कार्य चिनियाँ कम्पनी नर्थ–वेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सनले गरिरहेको छ ।

३१ डिसेम्बर २०१७ मा सक्ने गरी ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । भूकम्प र मधेस आन्दोलनका कारण समयमा निर्माण नसकिएको कम्पनीले जनाएको छ ।

विमानस्थल निर्माण परियोजनाका प्रमुख ओम शर्माले आन्तरिक डेकोरेसनबाहेक सन् २०१८ को जुनसम्म ठूला संरचना पूरा हुने बताए । धावनमार्गमा सबबेस राख्ने काम पूरा हुँदै छ भने त्यसपछि गिटी राख्ने र पिच गरिने जनाएको छ । ‘२०१९ लागेपछि हामी यहाँबाट अन्तर्राष्ट्रिय उडान भर्ने तयारीमा छौँ,’ शर्माले भने ।-नयाँ पत्रिकाबाट