काठमाडौं-दक्षिण अफ्रिकाविरुद्धको छ वनडे सिरिजमा भारत ५–१ ले विजयी भएको छ । शुक्रबार राति सम्पन्न अन्तिम वनडे म्याचमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको छ । २०५ रनको लक्ष्य भारतले ३२ ओभर १ बलमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको थियो ।


ADVERTISEMENT


यो जितसँगै भारतले दक्षिण अफ्रिकी भूमिमा पहिलोपटक वनडे सिरिज आफ्नो पक्षमा लेखाउन सफल भएको छ । भारतको जितमा कप्तान विराट कोहलीले अविजित १२९ रन बनाए । उनले १९ चौका र २ छक्का प्रहार गरे । कोहलीले यस सिरिजमा तीन शतक र एक अर्धशतक बनाएका छन् ।


ADVERTISEMENT

# # #


एक दिवसीय क्रिकेटमा कोहलीको यो ३५ औं शतक हो । उनी म्यान अफ दी म्याच र म्यान अफ दी सिरिज पनि घोषित भए । कोहलीको अलावा अजिक्य रहाणेले अविजित ३४ रनको पारी खेले । शिखर धवन र रोहित शर्माले क्रमशः १८ र १५ रनको योगदान गरे ।

दक्षिण अफ्रिकाका लुंगी एनगिडीले दुई विकेट लिए । सेन्चुरियनमा भएको खेलमा भारतले टस जितेर दक्षिण अफ्रिकालाई व्याटिङको निम्तो दिएको थियो । तर दक्षिण अफ्रिकाका कुनै पनि व्याट्सम्यान खुलेर खेल्न सकेनन् । खाया जोडोले ५४ रन जोड्दै अर्धशतक बनाए ।

कप्तान मार्करमले २४, एबीडिभिलियर्सले ३०, हेनरी केल्सनले २२ र हासिम अमलाले १० रन बनाए । फेहुलकवायोले ३४ रनको योगदान गरे । भारतको तर्फबाट सबैभन्दा धेरै शार्दुल ठाकुरले चार विकेट लिए । यसैगरी युजवेन्द्र चहल र जसप्रित बुमराहले २–२ तथा कुलदिप यादव र हार्दिक पाण्ड्याले १–१ विकेट लिए ।

टेस्ट र वनडे सिरिजपछि अब भारतीय टीमले दक्षिण अफ्रिकाविरुद्ध तीन टी–ट्वान्टी म्याच खेल्ने छ ।