काठमाडौँ– पशुपतिना धर्मशाला खाली गराउन गएको काठमाडौं महानगर प्रहरी रित्तै हात फर्किएका छन् । प्रहरीले धर्मशाला भित्र पस्न नदिएपछि उनीहरू महानगरको साइनबोर्ड लगाएर फर्किएका हुन् ।
हिजो पनि नगर प्रहरी धर्मशाला खाली गराउन पुगेको थियो । महानगरले पशुपति गौशाला धर्मशाला खाली गराउन जानुअघि प्रहरीरप्रशासनको सहयोग खोजेको थियो । सुरक्षा उपलब्ध गराउन आग्रह गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पठाएको पत्रमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सकारात्मक भएनन् । उनले आपसी छलफलबाट विवाद मिलाउन आग्रह गरेका थिए ।
जिप्रकाले सुरक्षा उपलब्ध नगराए पनि नगर प्रहरीको टोली धर्मशाला खाली गराउन गएको थियो । धर्मशालामा महानगरको बोर्ड राख्न खोज्दा हिजो मारवाडी सेवा समितिले अवरोध गरेपछि नगरप्रहरी यत्तिकै फर्किएको थियो ।
आज पनि गएको नगर प्रहरीलाई धर्मशाला प्रवेशमा प्रहरीले रोक्यो । उनीहरू यसअघि राखेको फ्लेक्सको ठाउँमा साइनबोर्ड राखेर फर्किएका छन् ।
गौशाला धर्मशालाको मोहीका सम्बन्धमा २०२१ सालको नापीमा गौशाला रहेको र २०४२ मा गाइगोड र धर्मशाला भनेर नापी भएको कोषले जनाएको छ । कोही कसैले कुनै व्यक्ति विशेष वा कुनै निकायलाई अन्यथा लेखिदिएकै भएपनि सोही आधारमा कानुनी हक प्राप्त गरेको मान्न नसकिने कोषले स्पष्ट पारेको छ । कोषले आफु मोही हो भने भूमिसुधारको पत्र ल्याउन पनि मारवाडी सेवा समितिलाई चूनौती दिएको छ ।
२०५८ मा गौशाला धर्मशाला शव्द मिलाएर मिल्दोजुल्दो हुने गरि जिल्ला प्रशासन कार्यालयमा मारवाडी सेवा समिति नेपाल नामक संस्था दर्ता गरिएको देखिएको कोषले जिकिर गरेको छ ।



























































