काठमाडोँ– सरकारले हालैको बाढी पहिरो प्रभावितका लागि स्थायी आवास निर्माणका लागि भौगर्भिक अध्ययन सुरु गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा गृहसचिव गोकर्णमणि दुवाडीले बाढी पहिरोबाट निकै क्षति भएका पालीकाहरुमा स्थायी आवास निर्माणका लागि भौगर्भिक अध्ययन सुरु गरिएको बताएका हुन् ।
बाढी पहिरोजस्ता प्रकोपबाट जोखिममा रहेका बस्तीको पहिचान गरि विस्थापीत भएका परिवारहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने उनले बताए । हालसम्म जोखिममा रहेका धनकुटा, लमजुङ, संखुवासभा, सिन्धुपाल्चोक, ताप्लेजुङ, बझाङ, अर्घाखाँची, तनहुँ, डोटी र धादिङका ३ सय ५२ परिवारलाई स्थानान्तरण गरिएको छ ।
त्यस्तै १६ वटा जोखिमयुक्त बस्तीको भौगर्भिक अध्ययनगरि पुर्नस्थापनाको प्रक्रियामा रहेको र ३४ स्थानीय तहको जोखिमयुक्त बस्तीमा भौगर्भिक अध्ययन गरि प्रतिवेदन प्राप्त भएको गृहसचिव दुवाडीले जानकारी दिए ।
उनले जाजरकोट र रुकुम(पश्चिम)मा भूकम्पपछि १३ वटा पालिकामा जोखिमको प्रारम्भीक भौगर्भिक अध्ययन सम्पन्न गरि प्रतिवेदन तयार गरेको उल्लेख गरे ।
त्यस्तै प्राकृतिक विपद् जोखिम रहेका झापा, महोत्तरी, सर्लाही,सुर्खेत लगाएतका स्थान गरि ४९ वटा स्थानमा स्मार्ट साइरन जडान कार्य सम्पन्न भएको दुवाडीले बतााए ।




























































