काठमाडौँ– सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा लगिएको छ ।
सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले उनलाई जिल्ला अदालत उपस्थित गराएको हो ।
उक्त समयमा पत्रकारसंग कुराकानी गर्दै रविले आफूलाई अदालतले न्याय दिने बताएका छन् । ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उनले भने ।
शुक्रवार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिवार बिहान पोखरा ल्याइएको थियो । शनिवार अदालत बन्द भएपछि रविलाई आज अदालतमा उपस्थित गराइएको हो ।
नियमित बाटोमा रास्वपाको प्रदर्शन भएका कारण लामिछानेलाई अर्कै मार्ग हुँदै अदालत लगिएको थियो ।





























































