काठमाडौँ– रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा उनका समर्थकहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
पोखराको शहिदचोकमा गरेको प्रदर्शनमा रास्वपा कार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि प्रहरीले सुरूमा पानीको फोहोरा हानेको थियो । तर, प्रदर्शनकारी टसमस नभएपछि अश्रुग्यास प्रहार गरिएको छ ।
त्यसक्रममा रविका समर्थक र सुरक्षाकर्मीबीच ठेलमठेलसमेत भएको छ । महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका सीडीओले शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन् ।
रविलाई म्याद थपका लागि अदालत प्रवेश गराइएको छ । प्रदर्शन भइरहेको शहीद चोकमा जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ ।
शुक्रवार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिवार बिहान पोखरा ल्याइएको थियो । शनिवार अदालत बन्द भएपछि रविलाई आज अदालतमा उपस्थित गराइएको हो ।
नियमित बाटोमा रास्वपाको प्रदर्शन भएका कारण लामिछानेलाई अर्कै मार्ग हुँदै अदालत लगिएको थियो ।





























































