काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विविधतायुक्त समाजमा एकरुपता ल्याउन समावेशी अभ्यास अपरिहार्य रहेको बताएका छन् ।
राष्ट्रिय समाचार समिति (रासस)सँगको अन्तर्वार्ताका क्रममा उहाँले समावेशी अभ्यास बलियो हुँदा समाजमा सबै वर्गले अपनत्व महसुस गर्न पाउने जनाए ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुुरुङले शान्त, समृद्ध, सुसभ्य, र विवादरहित समाज निर्माण गर्न समावेशीता जरुरी रहेको उल्लेख गरे । राससले समावेशी अभ्यासअन्तर्गत मैथिली र नेपालभाषा समाचार सेवा थप गरेको सन्दर्भ जोड्दै उनले भाषामा सबै समुदायको पहुँच विस्तार गर्नु लोकतन्त्र सुदृढ हुनुको सङ्केत भएको बताए ।
“राज्यको सत्ता र स्रोतमा सबैको पहुँच पुग्नुपर्छ”, मन्त्री गुरुङले भने, “संसारमा भएका अभ्यासमध्ये नेपालमा लोकतान्त्रिक अभ्यास भइरहेको छ, यसले सबै भाषा, धर्म, समुदाय, वर्गलाई समेटेको छ । आजको दिनसम्म सबैभन्दा व्यवस्थित खालको लोकतन्त्र भनेको समावेशी लोकतन्त्र नै हो ।”
मन्त्री गुरुङले मुलुक समावेशी लोकतन्त्रको अभ्यासमा रहेको जनाउँदै यसैको अभ्यासस्वरुप राससले थप भाषामा सेवा सुरु गरी भाषा संरक्षण र प्रवर्द्धनमा नयाँ आयाम थपेको उल्लेख गरे । राससले विभिन्न भाषामा समाचार दिँदा भूँइमान्छेले पनि अपनत्व महसुस गर्न थालेको उनको भनाइ छ ।
“राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल, गोरखापत्र संस्थानलगायत संस्थाले अहिलेको समावेशी लोकतन्त्रको भावनालाई पछ्याउन खोजेको देखिन्छ । यो आफैँमा खुसीको कुरा हो”, मन्त्री गुरुङले भने ।
यसअघि नेपाली र अङ्ग्रेजीमा मात्र समाचार सम्प्रेषण गर्दै आएको राससले हाल पाँच वटा भाषामा समाचार सेवा प्रदान गरिरहेको छ । उहाँले आगामी दिनमा राससले अन्य भाषालाई पनि स्थान दिँदै जानुपर्नेमा जोड दिए ।
“अहिले गोरखापत्रले ४४, रेडियो नेपालले २५ र नेपाल टेलिभिजनले विभिन्न भाषामा समाचार दिँदै आएको छ”, मन्त्री गुरुङले भने, “नेपालमा दनुवार भाषी कम भए पनि रेडियो नेपालले हालै दनुवार भाषामा समाचार प्रसारण गर्न थालेको छ, यसले दनुवार सुमदायले नेपालमा लोकतन्त्र आएको महसुस गर्न थालेका छन् ।”





























































