सल्यान– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले जनतालाई आशा जगाएर सुशासन कायम गर्नु अहिलेको प्रमुख आवश्यता बताएका छन् ।
आज सल्यानमा आयोजित सर्बदलिय बैठकमा मुख्यमन्त्री कडेँलले लामोसमयको सघर्षपछि राजनीतिक परिर्वतन भएको र जनताले नयाँ किसिमले कार्यसम्पादन खोजिरहेकोले नागरिकलाई आशा जगाएर सुशासन कायम गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताएका हुन् ।
‘गणतान्त्रिक व्यवस्था ल्याउन हामी सबै मिलेर संघर्ष गरेका हौँ’, मुख्यमन्त्री कडेलले भने, ‘व्यवस्थाका लागि संघर्ष गर्दा जनता समक्ष गरिएका बाचाहरु पनि बिर्सनुहुदैन ।’
दलका नेता र जनप्रतिनिधि मध्ये कोही कसैले गलत गरेमा व्यक्तिको गल्तीलाई सिंगो व्यवस्थामामाथि नै दोष लगाएर जनतामा वितृष्णा फैलाउने काम भइरहेको उनको आरोप छ । उनले व्यवस्थामाथि लान्छानालगाउनु भन्दा आफ्ना काम र कर्तव्यमा जिम्मेवार बन्नुपर्ने धारणा राखे ।
व्यक्ति विशेष खुशी बनाउने नाममा अनेकन विकृतिहरु भित्रिरहेको बताउदै मुख्यमन्त्री कडेलले ब्यक्ति खुशी बनाउनुभन्दा निति र निर्णय राम्रो बनाउन सके सबैले लाभ लिन सक्ने परिस्थिति निर्माण हुनेमा जोड दिए ।
यसअघि जिल्लास्थित स्थानीय तहका प्रमुख एवम सरकारी कार्यालयका प्रमुखहरुसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री कडेलले संविधानले तीनै तहका सरकारलाई आ आफना सीमा क्षेत्र तोकेको बताउँदै तीनै तहका सरकारबीच समन्वयात्मक ढंगले अघि बढ्नुपर्ने जनाए।
‘हामी सबैका आ —आफना छुट्टाछुट्टै जिम्मेवारी र दायित्व छन्’, मुख्यमन्त्री कडेलले भने, ‘ती सबै दायित्व र जिम्मेवारी जनताका लागि हुन् भन्ने विषयलाई हामीले हेक्का राख्नुपर्दछ ।’
आफ्नो बजेटले धान्न सक्ने अर्थतन्त्रको अवस्था हेरेर योजना बनाउन स्थानीय तह सुझाव दिदैँ मुख्यमन्त्री कडेलले गच्छे अनुसारको सरकार चलाउने लयमा लागियो भने मात्र जनतामा निराशा पैदा नहुने उनको भनाई छ ।


























































