काठमाडौँ – आफ्ना पार्टीका सभापति रवि लामिछानेको पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरीको हिरासतमा रहेका लामिछानेको पक्राउको विरोधमा रास्वपाले शुक्रबारबाट काठमाडौं केन्द्रीत प्रदर्शन थालेको हो । लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरको रास्वाको आरोप छ ।
पक्राउको विरोधमा ऐकवद्ध हुन आह्वान गर्दै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ । प्रदर्शनका क्रममा रास्वपा नेता तथा कार्यकर्ताले भ्रष्ट सरकार चाहिदैन, राजनीतिक प्रतिशोध साँध्न पाइदैन, सत्य कहिल्यै ढल्दैन, तानाशाही अव चल्दैन, दुईतिहाईको दम्भ बन्द गर लगाएतका नारा लगाएका थिए ।
प्रदर्शनका क्रममा रास्वपा सांसद हरि ढकालले रास्वपा संसदमा आएपछि ठूला भनिएका दलहरुले निरन्तर पार्टी र नेताहरुमाथि षडयन्त्र गरेको आरोप लगाए । उनले ८४ को निर्वाचन अघिसम्म सडक र सदन रास्वपाको हुने जिकिर गरे ।
कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतमा अनुसन्धान गर्ने भन्दै म्याद थपेर अनुसन्धान गरिरहेको छ । कास्कीमा बयान सकिनेबित्तिकै रुपन्देही लैजाने प्रहरीको तयारी छ ।


























































