काठमाडौं-नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणको प्रक्रियामा दोस्रो तहका नेताले पार्टीभित्र आफ्नो हैसियत कस्तो हुने भन्ने विषयलाई प्राथमिकतामा राखेका कारण टुंगोमा पुग्न सकेको छैन ।


ADVERTISEMENT


दोस्रो तहका नेताले पार्टी एकता सफल पार्नुभन्दा पनि पार्टी एकतापछि आफ्नो ‘पोजिसन’ के रहने भन्नेबारे टुंग्याउनुपर्ने भन्दै सैद्धान्तिक तथा वैचारिक विषय अघि सारेर एकतामा अड्को थापेका हुन् ।


ADVERTISEMENT

# # #


दुई पार्टीबीच एकताका लागि आधारभूत विषय टुंगो लाग्न नसक्दा माओवादीले सरकारमा मन्त्रीहरू पठाउन रोकेर राखेको छ । गत बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली माओवादीको समर्थनमा प्रधानमन्त्री हुँदै सानो आकारको मन्त्रिपरिषद् विस्तार गरे पनि एकताको विषय नटुंगिएको भन्दै माओवादी केन्द्र सहभागी भएन ।

एकताको विषय टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुने माओवादीले अडान राखेपछि दुई अध्यक्षबीच शनिबार पुनः गोप्य छलफल भएको छ । दुई अध्यक्षले आज (आइतबार) एकता संयोजन समितिको बैठकबाट सहमति खोज्ने प्रयास गरेका छन् । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गत सोमबार र मंगलबार भएको समझदारी बुधबार बसेको पार्टी संयोजन समितिको बैठकमा भने दोस्रो तहका नेताकै कारण टुंगोमा पुग्न सकेन ।

दुई अध्यक्षबीच दुवै जना पार्टीको हिस्सा बराबर रहने गरी संयन्त्र बनाउने र एकले सरकारको नेतृत्व गर्दा अर्को स्वतः पार्टीको कार्यकारी अध्यक्ष रहने, त्यसमा आलोपालो सरकारको नेतृत्व गर्ने, जनताको बहुदलीय जनवाद (जबज) र माओवाद दुवैलाई सम्मान गर्दै मिलेका विषय अहिले टुंग्याउने र बाँकी विषय महाधिवेशनमा संश्लेषण गरेर जाने समझदारी भएको थियो ।

पार्टी संयोजन समितिको गत बुधबार बसेको बैठकमा भने एमाले दोस्रो तहका नेताले जबजलाई छाड्न नसकिने भन्दै मार्ग निर्देशक सिद्धान्तका रूपमा उल्लेख गर्नुपर्ने अडान राखेका थिए । एमाले नेताले जबजलाई मार्ग निर्देशक राख्नुपर्ने मागमा माओवादीले अस्वीकार गरेको थियो । माओवादी नेताले जबज राख्ने भए माओवाद पनि मार्ग निर्देशक सिद्धान्तका रूपमा राख्नुपर्ने अडान राखेका थिए ।

दुई अध्यक्ष निरन्तर छलफल जारी राख्दै एकताको टुंगो लगाउने पक्षमा देखिए पनि दोस्रो तहका नेता भने एकतापछि आफ्नो पोजिसन अहिले नै मिलाउन भन्दै असहयोगी भूमिकामा देखिएका हुन् ।

माओवादी अध्यक्ष दाहालले भने वाम गठबन्धन टुटाउन एमाले र माओवादीका नेताहरूलाई धम्की र प्रलोभन आएको भन्दै दुवै पार्टीका नेता तथा कार्यकर्तालाई सतर्क रहन अपिल गरेका छन् ।

महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार दाहालले एकता तुहाउने षड्यन्त्र भएको भन्दै कहीँ न कहीँ कतै न कतैबाट यो प्रक्रिया अवरुद्ध पार्ने षड्यन्त्र भइरहेको खुलाएका थिए ।

दुवै पार्टीका तेस्रो तहका नेता भने एकताको विषयमा गुमनाम देखिएका छन् । तेस्रो तहका नेता एकताको विरुद्धमा देखिएका छैनन् भने एकता सफल बनाउन सार्वजनिक रूपमा कुनै भूमिकासमेत निर्वाह नगरेको पाइएको छ ।

माओवादी युवाको गोप्य भेला
पार्टी एकता प्रक्रिया जारी रहेको अवस्थामा माओवादी केन्द्र निकट विभिन्न आठ जनवर्गीय संगठन (जबस) तथा युवा नेताहरूले गोप्य छलफल गरेका छन् ।

माओवादी युवा तथा जबसका नेताले शुक्रबार राजधानीमा वैचारिक तथा सांगठनिक विषयमा गोप्य छलफल गरेका हुन् ।

पार्टी सचिवालय सदस्य समेत रहेका युवा नेता लेखनाथ न्यौपानेले पार्टी एकतालाई सही निष्कर्षमा पु¥याउन मूल नेतृत्वलाई सहयोग गर्ने उद्देश्यले छलफल सुरु गरिएको बताए । ‘पार्टी एकतालाई सहयोग पु¥याउनकै लागि छलफल थालिएको हो,’ उनले भने, ‘यो नियमित रूपमा छलफल चलाउने भएकाले पार्टीलाई वैचारिक रूपमा बलियो बनाउने र पार्टीमा जीवन देख्ने गरी कार्यकर्ता उत्पादन गर्ने हामीले विश्वास लिएका छौं ।’

यसअघि बसेको भेलाले विभिन्न पाँच विषय भाग लगाउँदै प्रतिवेदनका लागि पाँच नेतालाई जिम्मेवारी दिएको थियो । भेलाले विचार सिद्धान्त, संगठन, एमालेसँग मिलेका र नमिलेका राजनीतिक विषय, अबको समाजवाद कस्तो हुने र वाम सरकारले गर्दा राम्रो हुन्छ भन्ने विषय छुट्याएकोमा शुक्रबार वैचारिक र राजनीतिक विषयमा न्यौपाने र अर्का युवा नेता युवराज चौलागाईंले प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलाले प्रतिवेदन तयार गरेर नेतृत्वसँग छलफल गर्ने र पार्टी एकतालाई सहयोग पु¥याउने निर्णय समेत गरेको एक नेताले बताए ।-आजको राजधानी दैनिकबाट