काठमाडौँ – सत्तारुढ ७ दलले सहकारी गठी प्रकरणमा पक्राउ परेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा भइरहेको प्रदर्शनप्रति असन्तुष्टि जनाएका छन् । शुक्रबार सरकार गठनको १ सय दिन पुगेको अवसरमा प्रधानमन्त्री बालुवाटारमा बुसेको सत्ता साझेदार दलको बैठकले विरोध प्रदर्शनका गतिविधिप्रति गम्भीर असहमति जनाएको हो ।
‘निर्दोष कोही नफसुन् र दोषी कोही नउम्किउन् भन्ने कुराको सुनिश्चिताको लागि अनुसन्धान, अभियोजन र न्याय निरुपणको प्रक्रियाका लागि सबै पक्षको सकारात्मक सहयोगको आवश्यकता पर्दछ । तर पछिल्ला दिनमा अनुसन्धान र अभियोजनको प्रक्रियालाई नै प्रभावित गर्ने उद्देश्यले गतिविधिहरु सुरु भएका छन् ।’ बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘भिड जम्मा गरेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने र न्यायालयमाथि दबाब दिने गतिविधिहरु लोकतन्त्र र विधिको शासन विपरीत कुरा हो । यस्ता गतिविधिप्रति हाम्रो गम्भीर असहमति छ ।’ सहकारी सम्बन्धी संसदीय छानबिन समितिका सबै सुझाव र निर्देशन सरकारले कार्यान्वयन गर्ने समेत वक्तव्यमा उल्लेख छ ।
रवि पक्राउ परेसँगै रास्वपाले पोखरा, काठमाडौँ लगायतका सहरमा निरन्तर विरोध प्रदर्शन गर्दै आएको थियो । यद्दपि पार्टीले आजदेखि विरोधका कार्यक्रम स्थगित गरेको जनाएको छ ।


























































