काठमाडौं-प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसहित सातजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख मोहनराज मल्लले सबै मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । शनिबार ३ बजेका लागि हुने भनिएको शपथ ग्रहण कार्यक्रम एमालेले मन्त्रीहरूको चयनका लागि दुई घण्टा समय मागेपछि प्रदेश प्रमुख कार्यालयले शपथ ग्रहण ५ बजेका लागि सारेको थियो । शपथ ग्रहणको समय सारिएसँगै प्रदेश ७ को पूरै मन्त्रिमण्डल गठन भएको छ ।


ADVERTISEMENT


डोटी जिल्ला ‘ख’ प्रदेशसभा क्षेत्रबाट विजयी भट्टले मुख्यमन्त्रीको शपथ लिएका छन् । माओवादीबाट अछामका प्रदेशसभा सदस्य झपट बोहराले आर्थिक मामिला तथा योजनामन्त्री, माओवादीबाटै भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा विनीता चौधरी र एमालेबाट चारजना मन्त्रीले शपथ लिएका छन् ।


ADVERTISEMENT

# # #


एमालेका तर्फबाट सामाजिक विकासमन्त्रीमा एमाले कैलालीका अध्यक्षसमेत रहेका दीर्घ सोडारी, आन्तरिक मामिला र कानुनमन्त्रीमा एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्रीमा डडेल्धुराबाट पठानसिंह बोहरा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा बैतडीबाट माया भट्टले शपथ लिएका छन् ।

एमालेका उपाध्यक्ष तथा प्रदेश ७ का इन्चार्ज भीम रावलले तीन दिनसम्म संसदीय दलको नेता र मन्त्री चयनका लागि लगातार बैठक गरेका थिए । बैठकपछि शनिबार संसदीय दलमा नेता प्रकाश शाहका लागि सहमति जुटे पनि मन्त्रीहरूको भने टुंगो लगाउन सकिएको थिएन । पार्टी अध्यक्ष केपी ओलीसँग छलफल गरेर मात्रै मन्त्रीको चयन गर्ने सहमतिअनुसार रावल शनिबार नै दिउँसोको उडानबाट काठमाडौँ गएका थिए ।

काठमाडौंमा पार्टी अध्यक्ष ओलीसँगको परामर्शपछि एमालेले प्रदेश मन्त्रीको टुंगो लगाएको थियो । यसअघि कञ्चनपुरबाट एमालेका अध्यक्ष तारा लामा तामाङ पनि संसदीय दलका नेताका दाबेदार थिए ।

उपसभामुखमा निर्मला जोशी
प्रदेश ७ को उपसभामुख पदका लागि माओवादी केन्द्रकी प्रदेश सदस्य निर्मला जोशीले मनोनयन दर्ता गराएकी छिन् । प्रदेशसभा सचिवालयमा जोशीको मात्रै मनोनयन दर्ता भएकाले उनी निर्विरोध निर्वाचित भएकी हुन् । दार्चुलाबाट समानुपातिक प्रदेशसभा सदस्य जोशीको आइतबारको प्रदेशसभामा चयन हुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।