काठमाडौँ – सातौँ संस्करणको दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपको उपाधि जित्ने नेपालको सपनामा फेरि पनि तुसारापात भएको छ । बुधबार काठमाडौँको दशरथ रंगशालामा भएको फाइनल खेलमा बङ्गलादेशसँग नेपाल २-१ ले पराजित भएको हो ।
दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेले । केही मौका पाए पनि दुवै टोलीले गोलमा परिणत गर्न सकेनन् । बंगलादेशकी मोनिकाले ५३औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन् ।
बंगलादेशले अग्रता कायम गरेको ३ मिनेटमै नेपालले गोल फर्काएको थियो । नेपालकी ५६औँ मिनेटमा अमिषा कार्कीले उत्कृष्ट गोल गरिन् । तर बंगलादेशकी रितु पोर्णचक्माले ८२औँ मिनेटमा शानदार गोल गर्दै नेपालविरुद्ध २–१ को अग्रता दिलाइन् । जुन जितको निर्णायक बन्यो ।
७ मध्ये ६ पटक फाइनल पुगेको नेपाल यसपटक पनि साफ महिला च्याम्पियनिसप जित्न असफल भएको छ । यता बंगलादेशले भने लगातार दोस्रो पटक उपाधि जितेको छ । सन् २०२२ मा पनि बंगलादेशले नेपाललाई नै पराजित गर्दै पहिलो पटक उपाधि उचालेको थियो ।


























































