काठमाडौँ– नेपाल प्रहरीले बुधवार साँझ दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध असभ्य नाराबाजी गर्नेहरूको पहिचान गरेको छ ।
प्रहरीले हिजो साँझ दशरथ रंगशालामा भएको दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसको खेल समाप्तिपछि प्रधानमन्त्रीविरुद्व नाराबाजी लगाउनेहरु राष्ट्रिय स्वतन्त्र पार्टीबाट संगठित रूपमा खटाइएका व्यक्ति रहेको सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाएको छ र
नेपाल प्रहरी मुख्यालयका एक उच्च अधिकारीका अनुसार नाराबाजी गर्नेहरू प्रायः सबैको पहिचान भएको र उनीहरू योजनाबद्ध रूपमै त्यहाँ नारा लगाउन गएका थिए । त्यस्ता व्यक्तिहरूको संख्या एक सयको हाराहारीमा रहेको समेत प्रहरीले जनाएको छ ।
प्रहरीले फुटेजमार्फत नाराबाजी गर्नेको पहिचान गरेको थियो । उक्त हुलमा केही संख्यामा माओवादीका कार्यकर्ताहरु समेत उनको भनाई छ । नाराबाजी गर्नेहरूलाई निगरानीमा राखेर उनीहरूको फोटो भिडिओ लिने तर धरपकड नगर्ने आदेश बमोजिम उनीहरूलाई स्क्रिनिङमात्र गरिएको प्रहरी अधिकारीले बताए । अभद्र व्यवहार र हुलदंगा गरे मात्र नियन्त्रणमा लिने आदेश प्रहरीलाई थियो ।
उनका अनुसार रास्वपा कार्यकर्ताले आन्तरिक मेसेज ग्रुपहरूमा फुटबलको टिकट अग्रिम बुकिङ गरेर नाराबाजीका लागि तयार रहन सर्कुलर गरेको प्रहरीले भेटेको छ । हाललाई उनीहरुलाई नोटिसमा राखेको उनले जनाए ।


























































