काठमाडौँ– आफ्नो अनुमतिबिना निजी टेलिफोन संवाद बाहिर ल्याएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल आक्रोशित बनेका छन् ।
केही दिन यता प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका नेतासँग गरेको भेटघाटलाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति आपत्ति जनाउदैँ अर्यालले अनुमतिबिना निजी टेलिफोन संवादको विषय बाहिर ल्याउनेविरुद्व कानूनी प्रक्रियामा जाने चेतावनी समेत दिए ।
‘बिना अनुमति अरूको सूचना सामाजिक सञ्जालमा राखेर मुलुकी अपराध९संहिता २०७४ प्रतिकूल कार्य गरिएको छ। सोही ऐनको दफा २९३ मा अर्काको कुरा सुन्न र ध्वनीअंकन गर्न नहुने, दफा २९७ मा टेलिफोनमा गरेको कुरा सुन्न नहुने र दफा २९८ मा विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुने व्यवस्था छ’, उनले भने ।
जी टेलिफोनबाट आफूले गरेको संवाद नियोजित ढङ्गले गैरकानुनी प्रचार गरेको भन्दै उनले थपे, ‘मैले मेरो निजी टेलिफोनबाट को सँग, के९के संवाद गरे र गर्दै छु भन्ने सूचना प्राप्त गर्नको लागि नियतवश नियोजित ढङ्गले गैरकानुनी र अनधिकृत रूपले मेरो अनुमति र स्वकृति बेगर जासुसी तरिकाले बदनियतका साथ वैयक्तिक गोपनीयता माथि दखल पुर्याएको हुँदा निजलाई कानुनी कारबाही गरियोस्। कानुनी प्रक्रियामा जाने नै छु।’
पार्टीका सभापति रवि लामिछाने पक्राउपछि अर्यालले ‘परराष्ट्रमन्त्री आरजु राणालाई भेट्न समय मिलाउन’ भन्दै गरेको म्यासेज यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त म्यासेजपछि अर्याल तथा सम्पूर्ण रास्वपा कार्यकर्ता तथा नेताप्रति विभिन्न टिकाटिप्पणीहरु भइरहेको छ ।



























































