काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । राष्ट्रपति पौडेलले बुधबार सामाजिक सञ्जाल एक्समा अमेरिकाको राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएका ट्रम्पलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले ट्रम्पको जितलाई ऐतिहासिक बताउँदै दोस्रो सफल कार्यकालको शुभकामना दिएका छन् । उनले ट्रम्पको कार्यकालमा नेपाल–अमेरिकाबीचको सम्बन्ध थप उचाईंमा पुग्ने समेत विश्वास व्यक्त गरेका छन् ।
उनले ट्रम्पलाई मेन्सन गर्दै एक्समा भनेका छन्, ‘राष्ट्रपतिमा निर्वाचित तपाईको ऐतिहासिक जितको लागि न्यानो बधाई, । संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको लागि तपाईलाई सफलताको शुभकामना । तपाईको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा म विश्वस्त छु ।’
७८ वर्षीय ट्रम्पले वहालवाला उपराष्ट्रपति कमला ह्यारिसलाई पछि पार्दै दोस्रो पटक ह्वाइटहाउसको यात्रा तय गरेका छन् । अमेरिकामा कुल ५३८ इलेक्टोरल कलेज भोटह रहेको राष्ट्रपतिमा जितका लागि बहुमत अर्थात् २७० इलोक्टोरल भोटको आवश्यता पर्छ । डोनाल्ड ट्रम्पले २७९ इलेक्टोरल भोट प्राप्त गदैै विजय हात पारेका हुन् । उनकी प्रतिद्वन्द्वी कमला ह्यारिसले २१९ इलेक्टोरल भोट ल्याइन् ।
पहिलोपटक ४५औँ राष्ट्रपतिमा निर्वाचित ट्रम्प ४६औँ राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याट उम्मेदवार जो बाइडेनसँग पराजित भएका थिए । राष्ट्रपति हुँदा नै पराजित भएका उनी पार्टी विपक्षीमा हुँदा भने शानदार पुनरागमन गर्दै दोस्रो पटक राष्ट्रपति बनेका हुन् ।