काठमाडौँ– छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइएको छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व अन्तर्गत बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइएको हो ।
छठ पर्वका अवसरमा काठमाडौंको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरीलगायत वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारबाट भक्तजनले अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिएका छन् । यस्तै देशभरका अन्य नदी, तालतलैया, कुवा किनारमा व्रतालूले उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधाना गरेका छन् । छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।

चितवनको भरतपुर महानगरपालिका–१ नारायणगढस्थित नारायणी नदी किनारमा बिहीबार छठ पर्वमा अस्ताउँदो सूर्यलाई आराधना गरी अर्घ दिँदै ब्रतालुहरु । तस्बिर : रासस
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त ‘गुप्तवास सफल होस्’ भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।
लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको किम्वदन्ती रहेको छ ।

छठ पर्वका अवसरमा बिहीबार धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित ओैरही खोला छठ घाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै भक्तजन । तस्बिर : रासस
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित गोर्खाटोलमा कटुवा खोला किनारमा छठ पर्वमा बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै ब्रतालु । तस्बिर : रासस

चितवनको भरतपुर महानगरपालिका–१ नारायणगढस्थित नारायणी नदी किनारमा बिहीबार छठ पर्वमा अस्ताउँदो सूर्यलाई आराधना गरी अर्घ दिँदै ब्रतालुहरु । तस्बिर : रासस
काठमाडौँका नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै ब्रतालूहरु तल ।































































