धरान (सुनसरी)– इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहेका छन् । परिश्रमी उनले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै आएका छन् ।


ADVERTISEMENT


उनी भन्छन्, “बेतका सामान बनाउने र बिक्री गर्दै आएको २२ वर्ष भयो । फर्निचर महँगो भए पनि यसको बजार छ । इटहरी, तरहरा र मोरङको पथरीसम्म बिक्री गर्दै आएको छु, ती स्थानमा मात्र बिक्री गर्दा खर्च कटाएर मासिक रु ५० हजारसम्म बचाउन सकिन्छ ।”


ADVERTISEMENT

# # #


बेतबाट बनेका डोका, डाला, नाङ्लो मुढा, कोक्रोलगायत फर्निचरमा ग्राहकको आकर्षण बढिरहेको छ । उनले भने, “बेतको फर्निचर आकर्षक र टिकाउ भएकाले ग्राहकको रोजाइमा आफ्ना उत्पादन परेका छन् ।” श्रेष्ठले सजावटका सामान पनि बनाउन थालेका छन् । ती सामानको उच्च माग रहेकाले आफू त्यसमा नै बढी व्यस्त हुने गरेको बताए । हाल उनको पसलमा १२ प्रकारका बेतका सामान बिक्रीमा छन् ।

बेतबाट बनेका सजावटका सामान रु सात सयदेखि रु १६ हजार सम्ममा बिक्री हुने गरेका छन् । सिलगुडीबाट एक बण्डल बेतलाई रु तीन हजार पाँच सय पर्ने गरेका छन् । एक बण्डल बेतबाट पाँचवटासम्म सामान बनाउन सकिने भएकाले आफूलाई घाटा नभएको उनले जनाए ।

राजकुमारजस्तै धरान–९ का पर्शु तामाङले पनि बेतका सामग्री बेचेर मनग्ये आम्दानी गर्नुभएको छ । एघार वर्षदेखि बेतका फर्निचर बनाउँदै आउनुभएका उहाँले मासिक रु ८० हजारसम्म आम्दानी हुने गरेको बताए । उनले कोक्रो, सोफा, डाइनिङ टेबल, कुर्सी, मुढा, ह्याङ्गर, धाकी, गमला र्याकलगायत सामान बनाउने गरेका छन् ।

“बेतको सामान बनाउन जोकोहीले सक्दैनन्, त्यसैले भारतीय कालीगढ राखेर काम गरिरहेको छु, बिक्रीको समस्या छैन । बेतको सामान १० देखि २५ वर्षसम्म प्रयोग गर्न सकिन्छ” , उनले सुनाए ।

हातमा सीप भए रोजगारीका लागि विदेशिनु नपर्ने तथा स्वदेशमै व्यवसाय गर्न उनी युवापुस्तालाई प्रेरित गर्नुपर्नेमा जोड दिन्छन् ।