काठमाडौँ– गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ आएपछि मात्रै आफू अदालतमा उपस्थित हुने बताएका छन् ।
शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै मनाङेले सर्वाेच्चबाट लिखित रुपमा पूर्णपाठ प्राप्त भएपछि आँफै अदालतमा उपस्थित हुने बताएका हुन् । आफ्नो वकिलहरुलाई आफूविरुद्धको फैसलाको नक्कल सार्न लगाए पनि अदालतबाट पूर्ण पाठ नआएको जानकारी पाएको उनले बताएका छन् ।
‘सम्मानित सर्वाेच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु’, उनीद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ । फैसला आएपछि सञ्चारमाध्यमबाट तारन्तर फोन आएकाले आफूले मोबाइल बन्द गरेको जिकिर गर्दै मनाङेले फरार भयो भनेर हल्ला फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।
विसं २०६१ सालमा दीपक मनाङे उर्फ ‘राजीव गुरुङ’ को गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो । ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि आक्रमण गरेको थियो ।
ज्यान मार्ने मनसायले आक्रमण गरिएको उल्लेख गरेर मनाङेमाथि जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको थियो । उक्त अदालतले सामान्य कुटपिट मात्रै भएको उल्लेख गर्दै मनाङेलाई दुई वर्ष कैद सजाय सुनाएको थियो ।
जिल्ला अदालतको फैसलाविरुद्ध उक्त मुद्दा तत्कालीन पुनरावेदन अदालत पाटनमा दायर भएको थियो । उक्त अदालतले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्षको जेल सजाय ठहर गर्यो । तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको हो ।
तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद हुने फैसला सुनाएको थियो । सोही फैसलालाई सदर गर्दै मंगलबार (कार्तिक २० गते ) सर्वाेच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले मनाङे पाँच वर्ष जेल सजाय सुनाएको हो ।



























































