काठमाडौँ – संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयको नाम अनुमोदन गरेको छ । न्यायपरिषद्को पत्र अनुसार प्रस्तावित न्यायाधीशहरुको सुनुवाई गर्दै सर्वसम्मत रुपमा अनुमोदन गरेको समितिका सभापति ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।
संसदीय सुनुवाईका क्रममा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले छिटोछरितो, गुणस्तरीय र प्रभावकारी रूपमा न्याय सम्पादन गर्न ध्यान केन्द्रीत गर्ने बताए । उनले न्यायलयमा सुशासन विपरीतका गतिविधिमाथि निगरानी गर्ने योजना अनुसार अघि बढ्ने उल्लेख गरे ।
त्यस्तै अर्का प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डेले छिटो छरितो न्याय सम्पादन गरी मुद्दाको छिटो किनारा लगाउने बताए । उनले जनताले आशा गरेको न्यायालयको मर्मलाई थप बलियो बनाउन भूमिका खेल्ने जिकिर गरे ।
संसदीय सुनुवाईका क्रममा सांसदहरुले न्यायालयमाथि आम जनताको आशा भरोषा स्थापीत गर्दै छिटो न्याय दिने कार्ययोजनाका बारेमा जिज्ञासा राखेका थिए ।
न्याय परिषद्को असोज ११ गते बसेको बैठकले उनीहरुलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । निरौला हाल उच्च अदालत पाटनको मुख्य न्यायाधीश हुन भने पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश हुन् ।


























































