काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा फ्रेन्चाइज्ड टी–२० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को प्रसारण गर्न प्रख्यात भारतीय टिभी च्यानल स्टार स्पोर्टस् सकारात्मक देखिएको छ ।
स्टार स्पोर्टस् विश्वभर सबैभन्दा धेरै हेरिने खेलकुद टिभी च्यानल मध्येको एक हो । एनपीएलको पहिलो संस्करण यही नोभेम्बर ३० देखि काठमाडौँमा हुँदैछ । त्यसका लागि एनपीएलको स्ट्राटेजिक एण्ड कमर्सियल अधिकार पाएको ब्राण्ड लजिक पहल सुरु गरेको हो ।
ब्राण्ड लजिकका प्रमुख कार्यकारी अधिकारी रोशन निरौलाका अनुसार स्टार स्पोर्ट्स नेटवर्कसँग प्रसारणका लागि छलफल सकारात्मक रुपमा अघि बढिरहेको छ । अन्तिम चरणको वार्ता भइरहेकाले केही दिनभित्र नै सकारात्मक नतिजा निस्किने उनले बताए । उनले भने, “नेपाली क्रिकेट फ्यानहरू सधैँ खेलको प्रसारण गुणस्तरलाई लिएर चिन्तित हुनुहुन्छ । हामी नेपाली क्रिकेटलाई माया गर्ने समर्थकहरूको खेल हेर्दाको अनुभवलाई राम्रो बनाउने विषयप्रति एकदमै सचेत छौँ ।”
एनपीएललाई विश्वकै उत्कृष्ट क्रिकेट लिगमध्येको एउटा बनाउने क्यानको लक्ष्य अनुसार ब्राण्ड लजिक लागिरहेको निरौलाको भनाई छ । एनपीएलमा नेपालका सातवटै प्रदेशको प्रतिनिधित्व हुने गरी विभिन्न ८ टोली प्रतिस्पर्धा गर्दैछन् ।
त्यसका लागि टोलीका मार्की खेलाडी चयन र नेपाली खेलाडीको अक्सन भइसकेको छ भने विदेशी खेलाडीको अनुबन्धन समेत अन्तिम चरणमा पुगेको छ ।


























































