विराटनगर– ताप्लेजुङमा प्रसिद्व तीर्थस्थल पाथिभरामा केबलकार दिने पक्ष र विपक्षीबीच झडप भएको छ ।


ADVERTISEMENT


फुङ्लिङ नगरपालिका– १० काफ्लेपाटीमा पाथीभरा दर्शन केबलकारको निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममा अवरोध भएपछि दुई पक्षबीच झडप भएको हो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो ।

शिलान्यासका क्रममा निर्माणका लागि आवश्यक पर्ने इक्युपमेन्ट लैजान अवरोध भएपछि मजदुरहरु प्रतिकारमा उत्रिएका थिए । पहिले केबलकार स्थापनाको विरोधीहरुले ढुंगा हान्न थालेको बताउदैँ फुङलिङ नगरपालिकाका मेयर मादेनले भने, ‘उनीहरु अग्लो ठाउँमा बसेका थिए, त्यहाँबाट तल ढुंगा हान्दा केही प्रहरी साथीहरु पनि लाग्यो ।’ त्यसैको प्रतिकारमा उत्रिदा दोहोरो झडप भएको उनको भनाई छ । झडपमा दुवै पक्षका घाइते भएका छन् ।

उनका अनुसार शिलान्यासका लागि एक्जाभेटर चलाउन शुरु गर्दा पक्षधरहरु सोको विरोधमा उत्रिएका थिए । उनीहरुले एक्जाभेटरको चाबी खोसेपछि केही बेरपछि विवाद सामसुमजस्तो भयो । निर्माण पक्षले प्रहरीसँग चाबी मागेर एक्जाभेटर लगिछाड्ने अड्डी लियो । ‘निर्माण पक्षले चाबी माग्ने क्रममा एक्कासी माथिपट्टिबाट ढुंगा बर्सिएपछि दोहोरो झडप शुरु भयो’, मादेनले सुनाए ।

यसैबीच ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा तीर्थयात्री जान सहज बनाउन केबलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ । समारोहका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन लगायत कार्यक्रमस्थल पुगेका थिए ।

पाथीभरामा केबलकार बनाउने विषयमा लामो समयदेखि विवाद रहँदै आएको थियो । २ हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा देवीको मन्दिरमा यात्रा गर्न केबलकारले थप सहज गर्ने र ताप्लेजुङको पर्यटकीय महत्व अरु बढ्ने भन्दै एक पक्षले केवलकार स्थापनको माग गर्दै आएका छन् भने अर्कातर्फ पहिचान पक्षधरहरुसहित मुक्कुमलुङ संरक्षण समितिसहित केवलकार निर्माण भए प्रकृति नष्ट हुने बताउँदै केबलकार निर्माणको विरोध गर्दै आएका छन् ।