काठमाडौँ – नेपाल क्रिकेट संघको आयोजनामा सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल)को टोली कर्णाली याक्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौँमा आयोजिक एक कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति पूर्णकबहादुर खड्का, ‘फेस अफ कर्णाली याक्स’ स्वस्तिमा खड्का, टोलीका मार्की खेलाडी सोमपाल कामी र टोलीका डाइरेक्टर ज्ञानेन्द्र मल्लले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् ।
निलो र सुनौलो रंगको उक्त जर्सी जितको संकेत गर्ने टोलीका डाइरेक्टर मल्लले बताए । उनले एनपीएलबाट अनुमति लिएर नै रंग छनोट गरिएको उल्लेख गरे ।
यस्तै कर्णालीका मार्की खेलाडी सोमपालले टोली निकै सन्तुलित भएको बताउँदै सबैभन्दा बलियो टोली कर्णाली देखिएको बताए । उनले उपाधि जित्नका लागि मैदानमा शतप्रतिशत दिने उल्लेख गरे ।
एनपीएलले नेपाली क्रिकेट खेलाडीको स्तर उकास्नुका साथै नेपालको क्रिकेट ब्राण्डलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सहयोग गर्ने बताए ।
एनपीएलमा नेपालका सातवटै प्रदेशको प्रतिनिधित्व हुने गरी विभिन्न ८ टोली प्रतिस्पर्धा गर्दैछन् । एनपीएलको पहिलो संस्करण यही नोभेम्बर ३० देखि काठमाडौँमा हुँदैछ ।



























































