धनगढी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तालाई आन्दोलन नगर्न आग्रह गरेका छन् ।
आइतबार गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संसदीय छानबिन समितिको प्रतिवेदनमा आधारमा सरकारले लामिछानेमाथि अनुसन्धान गरेकाले उनको पक्राउ विरोधमा आन्दोलन गर्नुको अर्थ नभएको बताए ।
विगतमा कांग्रेसकै नेताहरुमाथि मुद्दा चल्दा आफूहरुले आन्दोलन नगरेको बताउदैँ देउवाले भने, ‘हाम्रा साथीहरुलाई मुद्दा चलाइकै हो, हामीले होहल्ला गरेनौं । यो अदालती प्रक्रियामा छ।’
सहकारीको रकम अपचलन प्रकरण कसुरमा रास्वपा सभापति लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरी कास्की अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
त्यसयता रास्वपाका नेता तथा कार्यकर्ताहरुले उनीमाथि राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै सडक आन्दोलन गर्दै आएको छ।