पोखरा – सहकारी ठगीसम्बन्धी कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार रविलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो ।
अदालतले यसअघि कार्तिक २० गते पनि १० दिनको म्याद थप गरेको थियो । उक्त म्याद २३ गते सकिए पनि सार्वजनिक विदाका कारण प्रहरीले रविलाई आइतबार अदालतमा उपस्थित गराएर म्याद थप गरिएको हो ।
रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएको थियो । उनीविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।