काठमाडौँ – युएईमा जारी आईसीसी यू–१९ महिला विश्वकपको एशिया क्षेत्र छनोटमा नेपालले थाइल्याण्डलाई १४० रनको चुनौती दिएको छ ।
आइतबार दुवईको द सेभेन स्टेडियम क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो । नेपाललाई उच्च स्कोरतर्फ पुर्याउन ओपनर साना प्रवीनले अर्धशतकीय पारी खेलिन् । उनले ४६ बलमा ७ चौकाको मदतमा ५३ रतन जोडिन् ।
यस्तै साबित्री धामीले ३६ बलमा १ चौकाको मदतमा २८ रन जोडिन् । उनीहरुले पहिलो विकेटका लागि महत्वपूर्ण ८८ रनको साझेदारी गरे । यस्तै सोनी पाख्रिनले १९ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ थाइल्याण्डकी नथारिका थोकोइले ३ विकेट लिइन् भने केसिनी काइओजुम्फोलले २ विकेट हात पारिन् । यस्तै कोरानित सुवाङचोनरथीका नाममा १ विकेट रह्यो । नेपालले ३ विकेट रनआउटका रुपमा गुमायो ।
थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहेको छ ।
नेपालले यसअघि पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको थियो । यस्तै दोस्रो खेलमा पनि कुवेतलाई भारी अन्तरले हराएको नेपाल तेस्रो खेलमा भने युएईसँग १३ रनले पराजित हुन पुगेको थियो ।
आज पनि जित निकाल्दै नेपाल विश्वकपमा पुग्ने सम्भावनालाई जीवितै राख्न चाहन्छ । नेपालसहित आयोजक युएई, थाइल्याण्ड र कुवेत गरी ४ राष्ट्र सहभागी प्रतियोगितामा प्रत्येक टोलीले एकअर्कासँग २–२ खेल खेल्नेछन् ।
नेपाल ३ खेलमा २ जितसहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । यता युएइई भने ३ खेलमा ३ जितसहित ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । थाइल्याण्डले ३ खेलमा १ जित हात पारेर २ अंक बटुल्दै तेस्रो स्थामा छ । कुवेतले भने तीन वटै खेल हारेको छ ।
प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले आगामी जनवरीमा मलेसियामा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका लागि छनोट हुनेछन् ।