काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर संयुक्त अधिराज्यको ग्लास्गोमा सम्पन्न इन्टरपोलको ९२औं महासभामा सहभागी भई आइतबार स्वदेश फर्किएका छन् ।
इन्टरपोल महासचिवालयको आयोजनामा कात्तिक १९ देखि २२ गतेसम्म संचालित उक्त महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता भएका हुन् । प्रहरी महानिरीक्षक कुँवरसँगै उक्त महासभामा सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाह समेत स्वदेश फिर्ता भएकी छन् ।
आईजीपी बसन्त बहादुर कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गरे ।
महासभामा नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालका प्रमुखसमेत रहेका आईजीपी कुँवर नेतृत्वको प्रतिनिधि मण्डलद्वारा मित्रराष्ट्रहरू चीन, दक्षिण कोरिया, अमेरिका, कतार र यूएईका प्रतिनिधीहरूसँगको द्विपक्षीय भेटघाटका क्रममा समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा छलफल भएको थियो ।
महासभामा इन्टरपोल र विश्व स्वास्थ्य संगठनबीचको सहयोग सम्झौता, आतंकवाद रणनीति र परिचालन, इन्टरपोलको विश्लेषणात्मक क्षमताहरूलाई सुदृढ गर्न एकीकृत रणनीति, बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटहरूको सूची तथा निजी संस्थाहरू बीचको सहकार्य, डिजिटल प्रमाणमा कानूनी पहुँच, इन्टरपोलको विद्यान संशोधनको लागि विभिन्न देशहरूबाट पेश गरिएका प्रतिवेदनहरू, इन्टरपोलको भवन विस्तार तथा पुनःनिर्माण कार्यक्रम जस्ता विषयहरूमा छलफल भई महत्वपूर्ण प्रस्तावहरू पारित समेत भएको थियो ।
महासभामा कार्यकारी समितिको रिक्त पदहरूमा निर्वाचन समेत भएको थियो । उक्त निर्वाचनमा इन्टरपोलको १९६ सदस्य राष्ट्रहरूको प्रतिनिधिहरू सहभागी भई नेपालले समेत आवश्यक मतदान गरेको थियो । यस महासभाबाट इन्टरपोलको नयाँ महासचिवको रूपमा मित्रराष्ट्र ब्राजिलका वाल्डेसी उरक्विजा मनोनयन भएको भनि घोषणा समेत भएको थियो ।
महासभाले इन्टरपोलको ९३औं महासभा सन् २०२५ मा मित्रराष्ट्र मोरक्कोको माराकेचमा, ९४औं महासभा सन् २०२६ मा मित्रराष्ट्र हङकङ, चीनमा र ९५औं महासभा सन् २०२७ मा मित्रराष्ट्र कतारको दोहामा आयोजना गर्ने निर्णय गरेको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर नेतृत्वको प्रतिनिधि मण्डल उक्त महासभामा सहभागी हुन कात्तिक १८ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।