बिराटनगर । युवासंघ नेपाल प्रदेश नम्बर १ सचिवालयको पहिलो बैठक १ नम्बर प्रदेशको राजधानी बिराटनगरमा सम्पन्न भएको छ । बैठकले युवा संघ नेपालको राष्ट्रिय महाधिबेशनको मिती तत्काल घोषणा गर्न जोडदार माग गर्दै बिभिन्न ५ बुँदे बिशेष प्रस्ताव पारित गरेको छ ।


ADVERTISEMENT


प्रजातन्त्र दिवशको अवसरमा सम्पन्न बैठकले १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, मन्त्रीहरु हिक्मत कार्की, जगदिश प्रसाद कुसियत, जीवन घिमिरे लगायतको उपस्थितीमा बिशेष प्रस्ताव पारित गर्दै बिभिन्न महत्वपूर्ण निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


सो अवसरमा एमाले मोरङका अध्यक्ष बिनोद ढकाल र युवासंघ नेपाल प्रदेश नम्बर १ का ईन्चार्ज पर्शुराम बस्नेतले १ नम्बर प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

बिशेष प्रस्तावका ५ बुँदा

१. युवा संघ नेपालको ९ औं राष्ट्रिय महाधिबेशनको मिती तत्काल घोषणा गर्न जोडदार माग गरिएको छ ।

२. भारतसंग नाका जोडिएका नेपाल तर्फका क्षेत्रहरुमा व्यापारिक सुनसान हुने तर भारत तर्फका क्षेत्रमा भने व्यापारिक चहलपहल बढी हुँदा आन्तरिक पुँजी बिदेशिको तर्फ ध्यानाकर्षण गराउँदै यस्लाई रोक्न केन्द्र र प्रदेश सरकार समक्ष जोडदार माग गरेको छ ।

३. बिभिन्न जिल्लाहरुमा भारतले मिचेका सिमाहरुका बिषयमा सरकारको धारणा माग गर्दै सिमा मिच्ने काम रोक्न केन्द्र र प्रदेश सरकार समक्ष जोडदार माग गरेको छ ।

४. जवजको जगमा कम्युनिष्ट आन्दोलनले उचाई प्राप्त गरिरहेको सन्दर्भमा जवज माथि नै प्रहार हुनु दुखद् छ । यसर्थ, जवजको विकास, रक्षा र प्रयोगमा बलियो गरि उभिन पार्टी नेतृत्वलाई आग्रह गरिएको छ ।

५. राज्यका सरकारी निकायहरुमा ढिलासुस्ती र कर्मचारीहरु कार्यालयमा ढिलो आउने र चाँडो भाग्ने प्रबृत्ति प्रति युवा संघको आपत्ति रहेको छ । यस्लाई रोक्न र सुधार्न सम्बन्धित सरोकारवाला निकायहरु समक्ष जोडदार माग गरिएको छ ।

बैठकले गरेका अन्य निर्णयहरु

प्रदेश नम्बर १ अन्र्तगत १४ जिल्लाका मातहतका राज्य पुर्नसंरचनामा भएका कमिटीहरुलाई चुस्त दुरुस्त बनाउँदै व्यवस्थित गर्न संगठन सुद्धृढिकरण अभियान सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।

युवा संघ १ नम्बर प्रदेशले आकश्मिक निर्णय गर्नुपर्ने अवस्थाका लागि युवा संघ १ नम्बर प्रदेशका ईन्चार्ज पर्शुराम बस्नेतको संयोजकत्वमा स्टेरिङ कमिटी बनाएको छ । कमिटीमा युवा संघ १ नम्बर प्रदेशका उपप्रमुख हिमाल लिम्बु, युवा संघ केन्द्रीय सचिवालय सदस्यहरु रविन थापा, दुर्गा गौतम, दिलचक्र राई, युवा संघ केन्द्रीय सदस्य अर्जुन ढुँगाना सदस्य रहेका छन् ।

केन्द्रीय सदस्य देवानन्द मेहता गम्भिर रोगले सिकिस्त भएकाले स्वास्थ्यलाभको कामना गर्दै उपचारका लागि आर्थिक श्रोत संकलन गर्ने निर्णय गरिएको छ । यस्तै, क्यान्सर रोगले पीडित केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको समेत स्वास्थ्यलाभको कामना गर्दै उपचारका लागि आर्थिक श्रोत जुटाउन मातहतका बिभागहरुलाई निर्देशन दिईएको छ ।