काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले आगामी वर्ष मलेसियामा हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा पुग्न सफल नेपाली यू-१९ महिला क्रिकेट टोलीलाई नगदसहित सम्म्मान गर्ने घोषणा गरेको छ ।
क्यानले युइर्एमा बुधबार सम्पन्न आईसीसी यू-१९ महिला विश्वकप एशिया क्षेत्र छनोट क्रिकेट प्रतियोगिताको उपाधि जित्दै विश्वकपमा पुग्न सफल नेपाली टोलीका लागि खेलाडीलाई २ लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको हो । यस्तै टोलीका अफिसियललाई पनि जनही १ लाख ५० हजारले सम्मान गर्ने निर्णय भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् ।
यही नोभेम्बर ४ देखि १३ सम्म युएईमा संचालन भएको यु १९ राष्ट्रिय महिला क्रिकेट टोलीले ६ मध्ये ५ खेलमा जित हात पार्दै पहिलो पटक यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको थियो । उपाधि विजेता नेपाली टोली आजै साँझ ६ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ । जसका लागि क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको तयारी समेत गरेको छ ।
एशिया क्षेत्र छनोटमा उपाधि जितेको नेपाल आगामी जनवरी १८ देखि फ्रेबुअरी २, २०२५ सम्म मलेशियामा संचालन हुने आईसीसी यू-१९ टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको समुह “डी”मा परेको छ । नेपालले अष्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।
यस्तै एशिया क्षेत्रको छनोटसँगै नेपाली यू–१९ टोली डिसेम्बर १५ देखि १८, २०२४ सम्म मलेशियामा नै आयोजना हुने एसीसी यू–१९ महिला एशिया कपमा समेत छनोट भएको छ । जहाँ समूह चरणको चरणको खेल अन्तर्गत नेपालले भारत र पाकिस्तानको सामना गर्नेछ ।




























































