काठमाडौँ – आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा पुग्न सफल नेपाली यू–१९ महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । युएईमा सम्पन्न आईसीसी यू–१९ महिला क्रिकेट विश्वकप एशिया क्षेत्र छनोटको उपाधि जितेर नेपाली टोली बिहीबार साँझ स्वदेश फर्किएको हो ।
नेपाली टोलीलाई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन बहादुर सिंहले स्वागत गरेका हुन् । नेपाली टोलीको स्वागतका लागि क्यानका सचिव पारस खड्का लगायतका क्रिकेट समर्थकहरु पनि विमानस्थल पुगेका थिए ।
नेपाली टोलीलाई सशस्त्र प्रहरी बलको टोलीले बाजागाजासहित स्वागत गरेको थियो । स्वागतपछि बोल्दै नेपाली यू–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले टिमवर्कले नेपाल विश्वकप पुग्न सफल भएको बताइन् । यस्तै प्रशिक्षक महेश प्रसाद रिजालले महिला क्रिकेटमा स्वर्णिम युगको सुरुवात भएको बताए ।
यस्तै राखेप सदस्य सचिव घिसिङले महिला क्रिकेट नयाँ उचाइ चुम्ने पर्खाइमा रहेको र यू–१९ टोलीले त्यसलाई वास्तविकतामा परिणत गरेको बताए ।
युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।
एसिया छनोटका छ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो । त्यस्तै यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउनेछ ।
एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ । एसियाली क्रिकेट परिषद् (एसीसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन् । नेपालले आगामी पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिष्पर्धा गर्नेछ ।



























































