काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)का ८ वटै फ्रेन्चाइज्ड टोलीले आगामी वर्ष मलेसियामा हुने आईसीसी यू–१९ महिला टी(२० विश्वकपमा पुग्न सफल नेपाली यू–१९ महिला क्रिकेट टोलीलाई नगदसहित सम्म्मान गर्ने घोषणा गरेका छन् ।
८ वटै टोलीले नेपाली यू–१९ महिला टोलीलाई संयुक्त रुपमा १० लाख रुपैयाँसहित सम्मान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । यही नोभेम्बर ४ देखि १३ सम्म युएईमा संचालन भएको यु १९ राष्ट्रिय महिला क्रिकेट टोलीले ६ मध्ये ५ खेलमा जित हात पार्दै पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको थियो ।
एशिया क्षेत्र छनोटमा उपाधि जितेको नेपाल आगामी जनवरी १८ देखि फ्रेबुअरी २, २०२५ सम्म मलेशियामा संचालन हुने आईसीसी यू-१९ टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको समुह “डी”मा परेको छ । नेपालले अष्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।
यस्तै एशिया क्षेत्रको छनोटसँगै नेपाली यू–१९ टोली डिसेम्बर १५ देखि १८, २०२४ सम्म मलेशियामा नै आयोजना हुने एसीसी यू–१९ महिला एशिया कपमा समेत छनोट भएको छ । जहाँ समूह चरणको चरणको खेल अन्तर्गत नेपालले भारत र पाकिस्तानको सामना गर्नेछ ।



























































